काठमाडौं। फिल्म ‘सरौतो’को पहिलो गीत सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्ममा समावेश ‘कुले दाई’ बोलको गीत सार्वजनिक गरिएको हो।
राजनराज शिवाकोटीको शब्द/संगीत रहेको गीतमा राजन र मिलन नेवारको स्वर छ।
फिल्मका मुख्य कलाकार सन्नी सिंह र सुमी मोक्तानले भिडियोमा कम्मर मर्काएका छन्। भिडियोमा यी दुईको केमेष्ट्रि गज्जब देखिएको छ।
यो भिडियोमा निशिला शाक्य र हरी हुँमागाईँको कोरियोग्राफी छ।
फिल्म ‘सरौतो’लाई एक दशकदेखी म्यूजिक भिडियो, विज्ञापन र फिल्म छायाँकनमा सक्रिय हरी हुँमागाईँले निर्देशन गरेका हुन्। फिल्मको कथा राघव कृष्ण गौतमले लेखेका हुन्।
सन्नी र सुमीका साथमा फिल्ममा पराक्रम (पिजेबी) राणा, विजय लामा, युवराज लामा, सम्पदा दाहाल, अमिर गौतम, अरुणा कार्की, धिरेन शाक्य लगायतको अभिनय छ। बदलाको कथामा निर्मित यो फिल्म असोज ३ गतेबाट प्रदर्शनमा आउनेछ।




















