काठमाडौं,३१ भदौ। काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्या एकै व्यक्तिले गरेको निष्कर्ष प्रहरीले निकालेको छ । आज पक्राउ परेका व्यक्ति एक्लै घटनामा जिम्मेवार रहेको ठहर गरिएको हो ।परिसरले आरोपीलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
घटनास्थलको सीसीटीभी क्यामरामा कैद भएका व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । उनले नै सबैको हत्या गरेको देखिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।
यसअघि अपराध अनुसन्धान महाशाखाले घटनाको जानकारी गराउन आएका दीपेन्द्र राईलाई पक्राउ गरेर राखेको थियो । तर, उनको घटनामा संलग्नता नदेखिएको परिसर स्रोतको दाबी छ ।
राईविरुद्ध प्रमाण नपुगेकोले किटानी जाहेरी दर्ता गर्न नमिल्नै भन्दै फर्काइदिएको प्रहरी स्रोतले जानकारी दिएको छ।हत्याकाण्ड भएकै दिन घटनाको बारेमा जानकारी गराउन राई ट्याक्सी चढेर प्रहरी कार्यालय पुगेका थिए। प्रहरीले राईलाई नै पक्राउ गरी अनुसन्धान थालेको थियो। तर प्रहरीले राई हत्यामा संलग्न नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
घटनामा मोरङका अन्दाजी २० वर्षीय नविन राई पनि मृत भेटिएका छन् । उनी त्यहाँको कामदार नभएको पाइएको छ ।
दिव्य सः मिलमा शुक्रबार मध्यराति एकै परिवारका तीनसहित ४ जनाको हत्या भएको थियो । उक्त घटनामा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए । शुभद्रा केही दिनअघि श्राद्ध गर्न आएकी थिइन् ।




















