वीरगन्ज,१६ असोज । पर्सामा दुई हप्ताअघि घरभित्रै शव भेटिएकी महिलाको हत्या मृतककै जेठाजुहरूले गरेको तथ्य खुलेको छ ।
जगरनाथपुर गाँउपाालिका ५ मसिहानी निवासी कान्तीदेवी बिनको हत्यामा जेठाजुहरु नै संलग्न रहेको तथ्य फेला परेको हो । ५६ वर्षकी कान्तीदेवीको घाँटी रेटेर हत्या गरिएको अवस्थामा असोज २३ गते घरभित्रै शव भेटिएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर आज घटना विवरणसहित सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा मृतकका जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत बिन र ५७ वर्षीय अमेरिका राउत बिन तथा मसिहानीकै ३६ वर्षीय लालबाबु राउत बिन रहेका छन । लालबाबुलाई असोज ७ गते तथा चन्द्रिका र अमेरिकालाई असोज १४ गते पक्राउ गरिएको पर्साका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार असोज १ गते मध्यरातामा चन्द्रिका, अमेरिका र लालबाबु तीनै जना मृतक कान्तिदेवीको घरमा चोरी गर्न सुरुङ खनेर पसेका थिए । उनीहरूले बाक्सा खोतल्ने क्रममा घरमै सुतिरहेकी कान्तिदेवीले ब्युँझिएर चिनेपछि पोल खुल्ने डरले उनीहरूले कान्ति देवीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
पर्साका प्रहरी प्रमुख कोमल बिक्रम शाहका अनुसार तीनै जनाले कान्तिदेवीको टाउकोमा रड र काठको फलेकले प्रहार गरी बेहोस बनाएपछि सिरानीले मुख थुनेर खुर्पी (धारिलो हतियार)ले घाँटी रेटेर हत्या गरेको पाइएको छ । पक्राउ परेकामध्येका लालबाबुले बयानका क्रममा यो तथ्य स्वीकारेको प्रहरी उपरीक्षक शाहले बताउनु भयो ।
शाहका अनुसार मृतकका एक्ला छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेको हुँदा नारायणी अस्पतालमा पोष्टमार्टमपछि शव बुझेर पक्राउ परेका जेठाजु चन्द्रिकाले नै दाहसंस्कार गरेका थिए । आमाको मृत्युको खबर पाएर घर फर्किएका मृतक कान्तिदेवीका छोरा अर्जुनले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएपछि त्यही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो । लालबाबु पक्राउ परेपछि हत्यामा संलग्न सवैको पोल खुलेको हो ।




















