काठमाडौं,१८ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताए ।
रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौ दिनको अभियानको सुरू गर्नुअघि पत्रकारसँगको कुराकानीमा उनले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताएका हुन् ।
उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन । हामीसँग सरकारले कुरा गरेर जानकारी गराएको पनि छैन ।’ सामाजिक सद्भाव जोगाउने पक्षमा पार्टी दृढ रहेको नेपालले बताए ।
संविधान दिवसका दिन बाँकेका ‘गुन्डा नाइके’ रिगललाई कैद मिनाह गरेको भन्दै पीडित चेतन मानन्धरकी श्रीमती भारतीले सर्वोच्चमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय एवं गृह मन्त्रालयविरुद्ध रिट दायर गरेकी थिइन् ।
रिगलले २०७२ असार २८ गते चेतनलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटेलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।


