काठमाडौं,१९असोज । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मीले पाएकी छिन्। जेलमा रहेकी मानवअधिकारकर्मी ५१ वर्षीया नर्गिस मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको हो।

इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानवअधिकार प्रवर्द्धन र स्वतन्त्रताका लागि दिएको योगदानका लागि उनलाई नोबेल शान्ति पुरस्कार दिइएको हो। ३१ वर्षको जेल सजाय पाएकी उनी इरानको जेलमा छिन् । नोबेल पुरस्कार समितिले उनलाई ‘फ्रिडर फाइटर’ को संज्ञा दिएको छ, र छिट्टै जेलमुक्त गर्ने विश्वास समेत व्यक्त गरेको छ । पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ ।

‘यदि इरानका अधिकारीहरुले उनलाई रिहा गर्न सही निर्णय लिए भने उनी पुरस्कार वितरण समारोहमा उपस्थित हुनेछिन्, जुन हामीले अपेक्षा गरेका छौं’ समितिका प्रमुख बेरिट रिस–एन्डरसनले भने । उनी डिफेण्डर अफ ह्युमन राइट सेन्टरको उपप्रमुख हुन्, जसको स्थापना नोबेल पुरस्कार जितिसकेकी शिरीन एबादीले गरेकी थिइन् ।

नर्गिसलाई इरानको सत्ताले १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटक दोषी ठहर्‍याएको छ । ३१ वर्ष जेल सजाय र १५४ पटक कोर्रा हान्ने आदेश भएको छ । नोबेल पुरस्कार समितिले नर्गिसलाई यस्तो बेला नोबेल शान्ति पुरस्कार दिएको छ, जतिबेला इरानमा महिलाहरुले स्वतन्त्रताका लागि आन्दोलन गरिरहेका छन् । सेप्टेम्बर २०२२ मा २२ वर्षीया महशा अमीनीको प्रहरी हिरासतमा मृत्यु भएपछि महिलाहरुले आन्दोलन सुरु गरेका थिए, जुन छिट्टै देशभर फैलियो । यसक्रममा महिलाहरुले सार्वजनिक रुपमा कपाल मुण्डन गरेका थिए ।