गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द विप्लव समूहको मुख्य निशाना काठमाडौँ उपत्यका भएको बताएका छन्।
प्रतिनिधिसभाका सोमबारको बैठकमा गृहमन्त्री थापाले विप्लवको पार्टीले काठमाडौँलाई केन्द्रका राखेका विस्फोटका घटनाहरु घटाएको बताए।
‘विप्लवका मूल निशाना अहिले उपत्यका बनेको छ। त्यसैअनुसार हिजो मात्रै उपत्यकामा ठाउँठाउँमा विष्फोटनहरु भए’, उनले भने। विष्फोटनमा परेर चार जनाको मृत्यु भएको र आधा दर्जनभन्दा बढी घाइते भएको उनले सदनमा जानकारी गराए। ‘चार जनाको मृत्यु भएको र आधा दर्जनभन्दा बढी घाइते भएका छन्’, उनले भने, ‘यसमा कुनै नागरिकको मृत्यु भएको छैन यो समूहसँग सम्वद्ध कार्यकर्ताहरुको मृत्यु भएको छ।’नेकपाको हिंसात्मक गतिविधि नौलो नभइ पुरानैको निरन्तरता भएको उनले बताए।
नेकपा विप्लहका गतिविधि संविधान र राज्यविरोधी भएको र सशस्त्र गतिविधि गर्दै आएको उनको दावी थियो।
उनले विप्लव समूहले जनसेनाका चार वटा कम्पनी बनाएको दावी गरे। ‘जनसरकारको रुपमा जनपरिषद् गठन गरेका छन्, जनसेनाका रुपमा चार कम्पनी स्थापना गरेका छन्। यो सञ्चालन गर्न नेकपा नामका पार्टी पनि गठन गरेका छन्,’ थापाले भने। सैन्य संरचनामा एक कम्पनीमा १ सय २७ जना जवान हुन्छन्।


