काठमाडौं,६ कात्तिक  । आज आश्विन शुक्ल नवमी अर्थात् महानवमी पर्व । महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजाआराधना गरिन्छ। यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन् ।

 चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको  आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ ।

 

अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ । यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ।

 

नवमीमा पनि शक्तिपीठ तथा दशैँघरमा पशुबलि दिने परम्परा छ । पशुबलि नदिने वा शाकाहारीले भने कुभिण्डो, घिरौँला र नरिवल चढाउँछन् ।

 

शक्तिपीठको दर्शन गर्ने क्रम नवमीका दिन पनि रहन्छ । यो दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ ।

 

नौ दिनसम्मको नवरात्र अनुष्ठान यो तिथिमा सम्पन्न गरिन्छ । नवदुर्गाको प्रसाद भने दशमीका दिन बिहान लगाइन्छ ।

 

आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरेको घडाको जल अभिषेक गरी देवीको प्रसाद फूल अक्षता तथा जमरा मान्यजनबाट ग्रहण गर्ने परम्परा छ ।

 

महानवमीका दिन आफू चढ्ने सवारीसाधनको पनि पूजा गर्ने चलन छ ।