ताप्लेजुङ—ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) मन्दिरमा फागुन महिनामा भक्तजनले चढाएको भेटीबाट ३१ लाख १० हजार रुपैयाँ सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार मन्दिरमा चढाइने भेटी समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्छन्। सङ्कलित रकमलाई सुरक्षित रूपमा पोकामा राखी लाहाछाप लगाएर मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ।

फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटी राखेर त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ। कार्यालयमा प्रहरीको निगरानी तथा सिसीटिभीको सुरक्षा व्यवस्थाबीच भेटी गणना गरी बैंकमा जम्मा गरिने व्यवस्था गरिएको समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन महिनामा मात्रै १८ हजार ६५२ जना भक्तजन पाथीभरा मन्दिरमा दर्शनका लागि पुगेका छन्। धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित पाथीभरा मन्दिरमा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन आउने गर्छन्।