मथुरा— बलिउड अभिनेत्री सनी लियोनीको नयाँ वर्षको अवसरमा आयोजना हुन लागेको कार्यक्रमलाई लिएर भारतको धार्मिक नगरी मथुरामा विवाद चर्किएको छ। स्थानीय साधु–सन्तहरूले उक्त कार्यक्रमको कडा विरोध गर्दै सनी लियोनीलाई मथुरा प्रवेशमै रोक लगाउनुपर्ने माग गरेका छन्।

साधु–सन्तहरूको तर्क अनुसार मथुरा भगवान् श्रीकृष्णको जन्मभूमि तथा रासलीलासँग जोडिएको अत्यन्त पवित्र स्थल हो। यस्तो धार्मिक र आध्यात्मिक महत्व बोकेको स्थानमा ग्ल्यामर र मनोरञ्जन केन्द्रित कार्यक्रम आयोजना गर्नु धार्मिक मर्यादाविपरीत भएको उनीहरूको भनाइ छ।

श्रीकृष्ण जन्मभूमि मन्दिरसम्बन्धी मुद्दाका मुख्य निवेदक दिनेश फलाहारी महाराजको अगुवाइमा साधु–सन्तहरूले जिल्ला प्रशासनलाई पत्र बुझाएका छन्। पत्रमा नयाँ वर्षको नाममा ‘अश्लीलता’ प्रदर्शन हुन सक्ने आशंका व्यक्त गर्दै कार्यक्रम रद्द गर्न र आयोजकमाथि कडा कारबाही गर्न माग गरिएको छ।

साधु–सन्तहरूका अनुसार विश्वभरका सनातन धर्मावलम्बीहरू भजन–कीर्तन र पूजापाठका लागि मथुरा आउने गर्छन्। यस्तो अवस्थामा मनोरञ्जन कार्यक्रमले धार्मिक भावनामा चोट पुग्ने र पवित्र भूमिको गरिमा घट्ने उनीहरूको आरोप छ।

सनी लियोनीको कार्यक्रम मथुराको होटल ललिता ग्राउन्ड र होटल द ट्रकमा आयोजना गर्ने तयारी थियो, जसको प्रचार सामाजिक सञ्जालमार्फत भइरहेको थियो। तर साधु–सन्तहरूको कडा विरोधपछि कार्यक्रम हुने–नहुने विषयमा अन्योल सिर्जना भएको छ।

प्रशासनले यस विषयमा अध्ययन गरिरहेको बताएको छ। अब सनी लियोनीको कार्यक्रमलाई अनुमति दिने कि नदिने भन्ने निर्णय प्रशासनको हातमा रहेको छ, जसप्रति स्थानीय बासिन्दा र देशभरका धार्मिक समूहहरूको चासो केन्द्रित भएको छ।