काठमाडौं,१३ मङ्सिर । नेकपा एमालेको स्वयंसेवक टोलीले जाजरकोटमा भूकम्पको कारण घर भत्किदा पुरिएका सरकारी कागजातहरू निकालेर सम्बन्धित कार्यालयलाई जिम्मा लगाएको छ ।
जाजरकोट भेरी नगरपालिका–३ खलंगा स्थित किरण भण्डारीको घरमा रहेको नापी कार्यालयको भवन भत्कँदा पुरिएका सरकारी कागजात सकुशल निकालेर कार्यालयलाई हस्तान्तरण गरिएको स्वयंसेवक टोलीमा खटिनु भएका राज मैनालीले जानकारी दिनुभयो ।
भूकम्पले पुरिएको सामाग्रीहरू १७ वटा ट्याङ्का, ब्ल्यु प्रिन्ट सम्बन्धी उपकरण, कार्यालयका पुरानो स्रेस्ता लगायतका सामाग्री भत्किएको भवनबाट निकालेर बुझाइएको मैनालीले बताउनुभयो । वाग्मती प्रदेशको स्वयंसेवक टिम बी–१ ले ती सामान सुरक्षित तरिकाले निकाली नापी कार्यालय जाजरकोटका निमित्त प्रमुख समीर राना मगरलाई जिम्मा लगाइएको छ ।
सो घरमा भूकम्पमा परी नापी कार्यालय जाजरकोटकी कर्मचारी दैलेखको दुल्लु नगरपालिका स्थायी घर भएकी अमिन एलिना भण्डारी र तिहारमा टीका लगाउन जानुभएका उहाँको भाइ प्रज्वल शाहीको ज्यान गएको थियो ।





















