विराटचोक,५ माघ । मोरङको सुन्दरहरैँचा नगरपालिकाको तेह्रौँ हिउँदे नगरसभा सम्पन्न भएको छ । शुक्रबार नगरप्रमुख केदारप्रसाद गुरागाईँको अध्यक्षतामा नगरपालिकाको नयाँ सभाहलमा सम्पन्न भएको हो ।
नगरसभाले आर्थिक ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । जसमा जग्गाको वर्ग विभाजन गरी नयाँ मूल्यांकन गरिएको छ । यस्तै घरको पनि मूल्याङ्कन गरि नयाँ दररेट कायम गरेको छ । भूमिकर मालपोत करलाई पनि संशोधन गरेको छ । व्यवसाय कर, घर नक्सा पास दस्तुर, घर बाटो सिफारिसलाई संशोधन गरिएको छ ।
करका दररेट सम्बन्धि समस्या समाधान गर्न वडाध्यक्ष रोशनप्रसाद ढकालको सम्योजकत्वमा विज्ञ सहितको समिति नै गठन गरिएको थियो । सो समितिले दिएको राय सुझावका आधारमा कार्यपालिका हुँदै नगरसभाले संशोधन सहित दररेट पास गरेको हो । धेरै भन्दा धेरै नागरिकलाई सहज हुनेगरी नागरिकको सहजता र सबैलाई मान्य हुने खालको दररेट तय गरिएको नगरप्रमुख गुरागाईँले बताए । यसलाई हिउँदे सभाले सर्वसम्मत पारित गरेको छ ।




