पथरी,२३ माघ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको ८ न. वडामा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
वडा नं. ८ को ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत विपन्न परिवारका ४० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
आज वडा कार्यालय परिसरमा भएको सो कार्यक्रममा विद्यार्थीहरुलाई विद्यालय पोशाक, जुत्ता, ब्याग, डटपेन, पेन्सिल र कापी वितरण गरिएको हो । वडाका बुद्ध मावि सोमबारेका २० जना, दुर्गा आवि शुक्रबारेका १५ जना र मिलन आवि मिलन चौकका १० जना विद्यार्थीहरु गरी कूल ४५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको वडाअध्यक्ष नविन कार्कीले जानकारी दिए।
शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख नगर प्रमुख तुम्वापोले वडा नं. ८ का प्रतिनिधिहरुले गरेको कार्यहरुको प्रशंसा गरे । उनले भने –‘वडा नं. ८ को काम गर्ने तौरतरिका छिटो छ, उनीहरूकाे टिमकाे कार्यले पक्कै पनि वडावासी खुशी हुन्छन् भन्ने मलाई लागेको छ ।’
यसैगरी कार्यक्रममा नगरपालिकाका शिक्षा अधिकृत नविन खुलालले पनि शुभकामना मन्तव्य राखेका थिए । वडाअध्यक्ष नविन कार्कीको अध्यक्षतमा भएको सो कार्यक्रममा वडा सदस्यहरु बाबुराम चौधरी, शान्ता योङहाङ, झमकबहादुर लिम्बु, शिवमाया विश्वकर्मा र विद्यालयका शिक्षिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम वडा सचिव अशोक कार्कीले सञ्चालन गरेका थिए। वडाले ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत अन्य कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आइरहेको छ ।




















