• ✍️ आचार्य अमृत 
- होइन, तिमी सधैँ पहिलो बेन्चमा बस्न रुचाउँथ्यौ, अहिले आएर किन पछिल्लो बेन्चमा गएर बस्न थाल्यौ ? 
- पछिलाई राम्रो हुने विश्वास भएर ।
- मैले बुझिनँ यो कुरा ।
- पर्ख न, म भनिदिइहाल्छु नि ।
- लु, भन न त ।
- जसले जेसुकै भने पनि मुलुक चलाउने राजनीतिले नै हो । पढेर अब्बल भए पनि आफ्नो देशमा काम पाइने होइन । त्यसो भएको हुनाले विदेश जान नचाहनेहरूले राजनीतिमा नै लाग्नुपर्ने भयो, किनभने हिजोआज राजनीति पनि पेसाकै रूपमा दरिन पुगेको छ । राजनीतिमा लागेर सफल हुन अन्तिम बेन्चमै बस्नुपर्ने रहेछ भन्ने एक महाअनुभवी राजनीतिक नेताबाट प्रत्यक्ष रूपमा सुन्न पाइयो । त्यसैले अब म सधैँ पछिल्लो बेन्चमै बस्छु, मरेकाटे अघिल्लो वा पहिलो बेन्चमा बस्तिनँ । पहिलो बेन्चमा बसेर पढे पछि डाक्टर भइएला, इन्जिनियर भइएला, वैज्ञानिक भइएला । काम पाइने होइन, खाडीतिरै दौडनुपर्ला बाँच्नका लागि वा युरोप/अमेरिका/क्यानडा/अष्ट्रेलियातिर भौतारिनुपर्ला । त्यस्तो झन्झट को बेसाइरहोस् ?  बरु ढुक्कसँग देशमै बस्यो, राजनीति गर्‍यो, नहुने/पार नलाग्ने भाषण छाँटेर दुनियाँ हँसायो, बस्यो । त्यसमा लागिरहियो भने पछि मुख्यमन्त्री/प्रधानमन्त्री पनि हुन सकिने रहेछ भन्ने विश्वास लाग्यो र मैले पछिल्लो बेन्चमै बस्ने अकाट्य निर्णय गरेँ, साथी ।
- तिम्रो कुरो सुनेर म औधी खुसी भएँ ।
- किन त्यस्तो खुसी भयौ ?
- म ता जन्मजात नै ब्याक-बेन्चर हुँ नि त ।
- त्यसो भए तिमी प्रधानमन्त्री हुँदा म मुख्यमन्त्री हुँला, त्यत्ति  नै त फरक होला । अलि पछि त म पनि प्रधानमन्त्री भइहालुँला नि ।
- ( दुवै हाँस्तै छुट्टिन्छन् ।)