काठमाडाैं,२७ माघ  । चीनसँगको मैत्रीपूर्ण फुटबल प्रतियाेगितामा नेपाल विजयी भएको छ । शनिबार काठमाडाैंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालको यु-२३ टोलीले चीन यान्सुको यु-२३ टोलीलाई ५-१ गोल अन्तरले हराएकाे हाे ।

नेपालका लागि समिर तामाङले दुई गोल गरे भने सञ्जीव विष्ट, छिरिङ लामा र निराजन धामीले समान एक-एक गोल गरे । सञ्जीवले खेलको दोस्रो मिनेटमै गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ३९औँ मिनेटमा समिरले गोल गरेपछि नेपालले खेलको पहिलो हाफमा नै २-० गोलको अग्रता बनाउन सफल भयो ।

त्यसपछि खेलको ५४औँ मिनेटमा समिरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । खेलको ६३औँ मिनेटम छिरिङको गोलमा नेपालले ४-० गोलको अग्रता बनायो । खेलको ७५औँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई ५-० को गोलको अग्रता बनाए । खेलको ७८औँ मिनेटमा चीनका पेङ्गकोउले एक गोल फर्काए । त्यसपछि खेलको निर्धारित समयसम्म गोल हुन सकेन र नेपालले चीनविरुद्ध ५-१ को जित निकाल्न सफल भयो ।

चिनियाँ नयाँ वर्षको अवसरमा  नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हाे । खेल सुरु हुनुअघि कुटुम्व ब्याण्डको सांगितिक कार्यक्रम साथै चिनियाँ ड्रागन शो लगायत कार्यक्रम भएका थिए ।