सु्नसरी– इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले मनोपोली गर्नका लागि अनेक प्रपञ्च रचेका छन्। नेपाली कांग्रेसका पौडेलले गठबन्धन गरी चुनाव जिते पनि माओवादीलगायतका दललाई धोका दिई नगरपालिकाको काममा एमालेका केही अवसरवादीको सल्लाहमा चलाउन थालेको गुनासो बढेको छ।
कांग्रेसका होनाहारलाई पाखा लगाई कार्यपालिकामा अल्पमतमा रहेका मेयर पौडेलले एमालेका ‘पिँध बिनाका लोटा’ मानिनेलाई सल्लाहकार र विज्ञका रुपमा नियुक्ति दिलाएर अघि बढ्ने कोशिश गरेका हुन्। उनको यो कामले कांग्रेस इटहरी नै रुष्ट छ।
पौडेलले विज्ञ भनेर योग्यता नै नपुगेका अर्जुन दाहाल, चन्द्र भट्टराईलाई नियुक्ति दिएका थिए। एमाले कार्यपालिकामा १५ जना वडाध्यक्षसहित सदस्यसहित बहुमतमा छ। उपमेयर पनि एमालेकै निर्वाचित छिन्।
‘हामीले सुझाव दिएको काम हुँदैन, एमालेले जे जे भन्यो त्यो हुन्छ’, कांग्रेसका एक स्थानीय नेता भन्छन्,‘मेयरले पद टिकाउनका लागि मनपरी चलाउन थाले।’
त्यसो त पौडेलको हर्कतसित एमाले पनि खुसी छैन। नियुक्ति खानेलाई कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिएका एक नेता भन्छन्,‘कांग्रेसको चटनी धेरै लामो हुनेवाला छैन।’
एमाले सुनसरी उच्च स्रोतका अनुसार सहमतिविपरित विज्ञका नाममा पौडेलले अर्जुन दाहाल र चन्द्र भट्टराईको नियुक्ति गराएका छन्। एमालेका ति उच्च पदाधिकारी भन्छन्,‘योग्यता नै नभएको मानिसलाई सल्लाहकार बनाउनु त अख्तियारीको दुरुपयोग पनि हो। मेयरले त्यो काम गरेका छन्।’
पछिल्लो समय इटहरीका विद्यालयका विषयमा निर्णय गरेर नाम कमाएका प्रमुख पौडेलका अनेक प्रकरणलाई एमालेले नजिकबाट नियाँलिरहेको सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले बताए।



















