इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलमाथि पूर्वउपमेयर लक्ष्मी गौतमले गतिलो प्रहार गरेकी छन्। 

उनले एक टिप्पणीमार्फत मेयर पौडेलमाथि कटाक्ष गरेकी हुन्। नेपाल सरकारको वित्तिय व्यवस्थापन आयोगले गरेको कार्य सम्पादन मुल्यांकनमा उपमहानगरको अवस्थालाई लिएर गौतमले पौडेलमाथि कटाक्ष गरेकी हुन्। 

उनले सामाजिक संजालमार्फत गरेको टिप्पणीमा भनेकी छन्,‘नेपाल सरकार वित्तिय ब्यबस्थापन आयोगले हरेक वर्ष गर्ने कार्यसम्पादन मुल्यांकनमा ३ बर्ष  अगाडि देशैभरका ११ उपमहानगरपालिका मध्य इटहरी पहिलो भएको थियो! यो वर्ष ११ औं अर्थात् अन्तिम भएछ! सारै चित्त दुखेको छ इटहरीका राजाले इटहरी डुबाएको देखेर!’

गौतमले पौडेललाई राजाको उपमा दिएकी थिइन्। उनले अगाडि लेखेकी छन्,‘प्रधानमन्त्रीको जत्तिकै तडकभडक  सचिवालय र कार्यकक्ष, बाहिर निस्कँदा सुरक्षा गार्ड  इस्कर्टिङ, लाज हुने गरिका बकम्फुसे कुरा, बस्ने ठाउँ हुँदा हुदैँ   पार्किङ मासेर रासी घर, टोटल बजेटको ५०% चालू खर्च, आबश्यकता बिना नाता गोताआफन्त कर्मचारी नियुक्ति छ।’

गौतमले भुटेको मकै बाँडेझै आर्थिक सहयोग गरि बजेट दुरुपयोग गरेको आरोप लगाउँदै अगाडि प्रश्न गरेकी छन्,‘अघिल्लो नेतृत्वले थालेका नगर गौरबका योजना सीमित बाहेक सबै अधुरा अनि तोक आदेशबाट योजना बितरण यस्तै यस्तै बिकासले  ५ बर्षमा इटहरीलाई कति वर्ष पछाडि पार्ने हो राजा जी?’