विराटनगर - वरिष्ठ गायक तथा भजन शिरोमणि भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ ।

 सोमबार अपराह्न साढे ४ बजे अचानक अक्सिजन लेभल कम भएपछि ललितपुरस्थित घरबाट मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।  

विक्रम संवत् १९९९ सालमा धनकुटाको कुरुले तेनुपामा जन्मिएका आचार्यको नेपाली सुगम संगीतमा विशिष्ट स्थान छ ।  स्वरसम्राट नारायणगोपालका समकालीन गायक आचार्यलाई भजन शिरोमणिको उपाधी दिइएको थियो  । 

आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । उनले  पनि दर्जनौंको संख्यामा भजन पनि गाएका छन्  । आचार्यले झण्डै ४ सयभन्दा बढी  गीतमा स्वर तथा संगीत दिएका थिए । 

  वि.सं २०४६ सालको एक साँझ बौद्धमा सांघातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो । त्यसयता लगभग उनको गायनयात्रामा विराम लाग्यो । ८१ वर्षीय आचार्य ३० वर्षदेखि दूध र झोलिलो पदार्थ मात्रै खाएर बाँचिरहेका थिए । उनका सुपुत्रद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्य नेपाली गीत संगीतमा निकै चर्चित छन् । 

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजेदेखि  श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने छ र राष्ट्रिय सम्मानका साथ अन्तिम  बिदाइ गर्ने कार्यक्रम छ । 

रहेनन् भारतका प्रसिद्ध गजल गायक पंकज उदास पनि 

 भारतका प्रसिद्ध गजल गायक पंकज उदासको निधन भएको छ। ७२ वर्षको उमेरमा सोमबार बिहान निधन उनको भएको हो।

  लामो समयदेखि अस्वस्थ उनलाई १० दिन पहिले मुम्बईंको ब्रिच क्याण्डी अस्पताल भर्ना गरिएको थियो।

पंकज उदास सन् १९५१ मे १७ मा गुजरातको जेतपुरमा जन्मिएका थिए। बलिउड चलचित्र ‘नाम’ का लागि उनले गाएको गजल ‘चिठ्ठी आई है’ लोकप्रिय बनेको थियो। उनको योगदानको कदर गर्दै भारत सरकारले पद्मश्रीबाट सम्मानित गरेको थियो।