विराटनगर - बाराकाे निजगढ नगरपालिका-७ स्थिति राेहित वर्कसपमा सोमबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।
साेमबार भएकाे विस्फाेटमा परी गम्भीर घाइते भएका भारत गवईका ३५ वर्षीय राकेश जयसवाल र वीरगञ्ज-९ का २० वर्षीय रीतु रजतको उपचारका क्रममा मंगलबार बिहान ज्यान गएकाे हाे । याेसँगै ज्यान गुमाउनेकाे संख्या ३ पुगेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
रोहित वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम पुलामी मगरको साेमबार नै उपचारका ज्यान गएकाे थियाे ।
वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो । विस्फाेटमा परी ६ जना घाइते भएका थिए । बाँकी ३ घाइतेकाे अवस्था पनि गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
कवाडी सामान बेच्ने निजगढ-९ का टीकाराम पाख्रिन र कवाडी सञ्चालक राज भनिने रमेश जैसवाललाई प्रहरीले पक्राउ गरेकाे छ । राजले प्रोजोक्टाइल जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न साे वर्कसपमा ल्याएको र त्यसक्रममा साे वस्तु विस्फोट भएकाे हाे ।प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुने र नेपालमा नपाइने पनि प्रहरीले जनाएकाे छ ।
विस्फाेट भएकाे वस्तुबारे अझै यकिन नभएकाे र यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।


