विराटचोक - मोरङको सुन्दरहरैँचा स्थित सुकुना बहुमुखी क्याम्पसमा तीन दिने विज्ञान‚ प्रविधि र व्यवसायिक प्रदर्शनी भव्यरुपमा सम्पन्न भएको छ । गत फागुन २१ गते देखि सुरु भएको प्रदर्शनी एसएमसी इनोवेक्स २०८० को आज बुधबार सम्पन्न भएको हो ।
अन्तिम दिन विभिन्न विद्यालय‚ क्याम्पस‚ समूदाय‚ व्यापारिक प्रतिष्ठान‚ अभिभावक‚ शिक्षक र विद्यार्थीहरू गरी २५ हजारभन्दा बढिले अवलोकन गरेको क्याम्पसका अधिकृत नवराज कोइरालाले जानकारी दिए ।
प्रदर्शनी समापन कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरागाईँले प्रदर्शनीमा विद्यार्थीले प्रस्तुत गरेका सिर्जनात्मक प्रस्तुतिको अवलोकन गर्दा गौरवान्वित भएको विचार व्यक्त गरे ।
त्यस्तै कार्यक्रमका विशिष्ट त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका डेपुटि डाइरेक्टर डा. डिल्लिराम प्रसाईंले सुकुना क्याम्पस पूर्वकै प्रतिष्ठित संस्थाका रुपमा स्थापित भएको तथा विद्यार्थीहरूका प्रयोगात्मक कार्य र व्यापारी प्रतिष्ठानको सहयोगबाट प्रभावकारी प्रदर्शनी गरेकोमा क्याम्पसको ख्याति बढेको धारणा व्यक्त गरे ।
विहान १० बजेदेखि सञ्चालन भएको अन्तिम दिनको विज्ञान‚ प्रविधि तथा व्यवसायिक प्रदर्शनी भने प्रदर्शनीमा स्टल राख्ने विद्यार्थी‚ व्यापारी‚ प्रतिष्ठान र स्वयमसेवकहरूलाई सहायक क्याम्पस प्रमुख बलराम पोखरेल‚ विज्ञान कार्यक्रमका संयोजक टिकाप्रसाद उपाध्याय‚ बिबिए कार्यक्रमका डाइरेक्टर शङ्कर देवानको टोलीले प्रमाणपत्र वितरण गरेका थिए ।
त्यस्तै सोही कार्यक्रमको अवसरमा बिहानी सत्रमा फागुन ३ गते देखि १८ गतेसम्म सञ्चालन भएको अतिरिक्त क्रियाकलापको कार्यक्रममा विभिन्न खेलमा विजयी भएका खेलाडिहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा एथलेटिक्स तर्फका १०० मिटर‚ २०० मिटर‚ ४०० मिटर‚ १५०० मिटर दौड‚ हाइजम्प र लङजम्पतर्फ विजेता छात्र तथा छात्राहरूलाई कायाम्पस प्रमुख अर्जुनराज अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए ।
त्यसैगरी छात्र र छात्रा तर्फको भलिवल खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडि‚ बास्केटव खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडि‚ फूटबल खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडि र क्रिकेट खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडिहरूलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले नगद पुरस्कार‚ मेडल र प्रमाणपत्र वितरण गरेको सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले जानकारी दिए ।
पुरस्कार वितरण अतिरिक्त क्रियाकलाप समितिका संयोजक विदुर सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रमलाई उपप्राध्यापक खगेन्द्रराज दहालले संचालन गरेका थिए ।
समापन कार्यक्रमको तेस्रो चरणमा अपरान्ह ३ बजेदेखि विद्यार्थीहरूले साँस्कृतिक तथा साहित्यिक कार्यक्रम सञ्चालन गरेका थिए । समापन कार्यक्रममा प्रदर्शनी व्यवस्थापन समितिका संयोजक तथा स्ववियु सचिव एलिश ओझा र सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले स्वागत गरेका थिए । प्रदर्शनीमा सहयोग गर्नुहुने सबैलाई क्याम्पस प्रमुख अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले गरेका थिए ।























