काठमाडौँ - रौतहटको मौलापुरमा शुक्रवारदेखि मधानी महोत्सव सुरु भएको छ ।  मौलापुर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा सहभागी हुन भारतीय चलचित्रका सुपरस्टार अभिनेता गोविन्दा रौतहट आएका छन् ।

उनको प्रस्तुति हेर्न  लाखौँको सङ्ख्यामा रौतहट लगायतका जिल्लाहरूबाट दर्शक मौलापुरमा आएका थिए  ।

कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।  चर्चित कमेडियन कलाकार  समेत रहेका     गोविन्दाले दर्शकलाई आफूसँगै नचाएका छन्। गोविन्दाले दर्शकहरुको माग अनुसार नृत्य गरेका थिए। ससुराली देश नेपाल आएका उनले आफूलाई निकै खुसी लागेको बताउँदै मौलापुर नगरले विपन्नको छोरीको विवाहमा दिइरहेको कोसेलीको प्रशंसा गरे।

रौतहट आउन पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले नेपाल र नेपाली दर्शकहरूको माया आफूले सदैव पाएको बताए ।  सुपरस्टार कलाकार मौलापुर-५ पतौरास्थित महादेव मन्दिरमा आउने भएपछि नेपाल र भारतका लाखौँ  मानिस ओइरिएका थिए।

मौलापुर नगरपालिका प्रत्येक वर्ष पतौरा महादेव मन्दिरमा मधानी महायज्ञको आयोजना गर्दै आएको छ । पतौरामा जग्गा उत्खनन गर्दा ११ औँ शताब्दी अघि निर्माण भएका शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातत्वविदलाई स्थलगत अध्ययन गराएर यो स्थानमा मधानी महायज्ञको सुरुवात गरिएको थियो । 

कर्णाटककाल भन्दा पहिलेको अवषेशहरु भेटिए पछि पुरातत्त्व विभागको यहाँ उत्खनन गरेको थियो । मधानी महोत्सवमा नेपाल र भारतका गरी ५ लाख भन्दा बढी सहभागी हुने लग्य रहेको आयोजकले गराएको छ  ।