लेटाङ - लेटाङमा जारी लेटाङ टि ट्वान्टी त्रिकोणात्मक शृङ्खलाको दोश्रो खेलमा युनाइटेड क्लब माथि ३६ रनको जित हासिल गर्दै त्रिवेणी राइनोज फाइनल नजिक पुगेको छ ।
शनिबार टस जितेर युनाइटेड क्लबले फिल्डिङ रोजेपछि पहिले ब्याटिङमा उत्रिएको त्रिवेणीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । १ सय ५२ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको युनाइटेड क्लब १८.५ ओभरमा ११६ रनमा अलआउट भए पछि त्रिवेणीले ३६ रनको सहज जित दर्ता गरेको हो । युनाइटेडका गौरव राईले सर्वाधिक २२ रन जोडेका थिए । त्रिवेणीका दोर्ण मगरले सर्वाधिक ४ विकेट र प्रेम सागर दाहालले ३ विकेट हात पारेका थिए ।
शुक्रबार ह्याप्पी क्लबसँग पराजित भएको त्रिवेणीले आइतबार हुने ह्याप्पी क्लब र युनाइटेड क्लबको नतिजामा भर पर्नुपर्ने भए पनि नेट रनरेटमा सुधार गरेकाले फाइनल नजिक रहेको हो । त्रिवेणीका लागि उत्तम ढकालले सर्वाधिक नटआउट ४६ रन र भोला राईले २३ रनको योगदान गरे । युनाइटेडका न्युटन विश्वास र विवस श्रेष्ठले समान २-२ विकेट हात पारेका थिए ।
जितसँगै २ खेलमा २ अंकका साथ रनरेटका आधारमा त्रिवेणी तालिकाको शीर्ष स्थानमा पुगेको छ भने १ खेलमा १ जितका साथ ह्याप्पी क्लब पुछारमा छ । ब्याटिङमा १३ रन, बलिङमा ४-१२ र फिल्डिङमा ५ क्याच लिन सफल त्रिवेणीका द्रोण मगर म्यान अफ द म्याच घोषित भए ।
युनाइटेड क्लब, ह्याप्पी क्लब र त्रिवेणी राइनोजको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई वडा नं ४ ले मुख्य प्रायोजन गरेको छ भने विभिन्न व्यक्ति तथा संघ सस्थाहरूले सहयोग गरेका हुन । ३ वटा टिमहरूको राउन्ड रोबिन लिग र उत्कृष्ट २ टिम फाइनल पुग्ने फर्म्याटमा आयोजना भइरहेको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ । प्रतियोगिता विजेताले ट्रफी सहित रु १५,००० र उपविजेताले रु ७,५०० प्राप्त गर्नेछन् ।




















