काठमाडौं — कतारलाई ३२ रनले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको छ। शनिबार ओमानमा भएको खेलमा नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले ९ विकेटको क्षतिमा १७८ रन मात्र जोड्यो।
कतारका लागि कप्तान मोहमद तनविरले ६३ रन जोडे। उनले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गरेपनि १५ औं ओभरमा अभिनास बोहराको बलमा कुशल भुर्तेलबाट क्याच भए । बलिङतर्फ नेपालका ललित राजवंशी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको विस्फोटक ब्याटिङमा ७ विकेटको क्षतिमा २१० रन जोडेको थियो ।
नेपालका लागि दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरको सबै ६ बलमा छक्का नै हिर्काए । दीपेन्द्रले नटआउट ६४ रन जोडे। उनले २१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे।
यसअघि पनि दीपेन्द्रले ६ बलमा ६ छक्का हिर्काए पनि त्यो एकै ओभरमा थिएन। जसका कारण दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी भए।




















