पश्चिम बंगाल  — भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी लडेर चोट लागेको कुरा चर्चामा आएको छ । उनको टाउकोमा कसरी चोट लागो भन्ने कुरामा पछिल्लो अपडेट पनि आएको छ । स्रोतका अनुसार एसएसकेएम अस्पतालका निर्देशक मणिमोय बन्दोपाध्यायले ममता बनर्जीको स्वास्थ्य अपडेट दिँदै ठूलो खुलासा गरेका छन् । उनले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई कसैले पछाडिबाट धकेलेको बताएका छन्  । 

धक्काका कारण लडेर उनको टाउकाको अघिल्लो भागमा चोट लागेको थियो ।  ६९ वर्ष उमेर पुगेकी  बनर्जीले आफूलाई कुनै दुर्घटना नभएको बरु षड्यन्त्रका रूपमा आक्रमण गरिएको आशंका व्यक्त गरेकी छन् । जेड प्लस सुरक्षा हुँदाहुँदै पनि मुख्यमन्त्रीको घरभित्र केही मानिसहरु पसेर धकेल्दै भागेको भन्ने आरोप लगाइएको छ  । यो सुरक्षा व्यवस्थाको कमजोरी विषय हो उनले घटनाको अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्दै दोषीलाई पक्राउ गर्न माग गरकी छन् ।

सुरक्षाको लापरवाहीका कारण यो घटनाको विषयमा यतिखेर भारतमा प्रश्न उठेको छ । भारतीय सञ्चार माध्यमको अनुसार बिहीबार साँझ ममता बनर्जी आफ्नो घरमा घाइते भएकी थिइन् । उनी कोलकाताको कालीघाटस्थित आफ्नो घरमा घुम्दै थिइन् । यसै क्रममा उनी लडेर टाउकोमा गहिरो चोट लागेको थियो । उनका सुरक्षाकर्मीले हतारमा उनलाई एसएसकेएम अस्पताल लगे। डाक्टरहरुले उनलाई प्राथमिक उपचार दिएर हेरचाह गरेका थिए । उनको निधारमा तीनवटा र नाकमा एउटा टाँका लागेको छ ।

उनी राति ९.३० बजे डिस्चार्ज भए पनि कोलकाता प्रहरीमाथि प्रश्न उठिरहेको छ । उनका सुरक्षाकर्मी पनि प्रहरीको घेरामा परेका छन् । प्रश्न उठिरहेको छ कि ममता बनर्जीलाई जेड प्लस सेक्युरिटी छ, तैपनि उनको सुरक्षामा कसरी त्रुटि भयो ? बनर्जीका  भतिजा अभिषेक बनर्जीले पनि प्रश्न उठाएका छन् कि २०२४ को लोकसभा चुनाव नजिकिँदै गर्दा सुरक्षा प्रोटोकल कसरी तोडियो, छानबिन हुनुपर्छ ?

ममता बनर्जीलाई चोट लागेको खबर प्राप्त हुनासाथ तृणमूल कांग्रेसले ट्वीट गरेको थियो । जसमा ममता बनर्जी घाइते भएको जानकारी दिइएको थियो । उनको चोटका तस्बिरहरु पनि शेयर भएका छन् । तस्विरमा उनी ह्वील चेयरमा देखिएकी छिन् । टाउकोमा पट्टी बाँधिएको थियो । रगत बग्ने लक्षण पनि देखियो । ममता बनर्जी घाइते भएको जानकारी पाएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उनले ममता दीदीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेका छन् । एजेन्सी