विराटचोक - सुकुना बहुमुखी क्याम्पस र आसाम डाउन टाउन युनिभर्सिटि‚ गुवाहाटी‚ भारतका बिच गत बर्ष द्विपक्षीय सम्झौता बमोजिम आसाम युनिभर्सिटीका सहप्राध्यापक डा. विशाल भुईँयानले सुकुना बहुमुखी क्याम्पसमा ७ दिने सहजीकरण सम्पन्न गरेका छन् ।

दुबै शैक्षिक संस्थाहरूले विद्यार्थी तथा शिक्षकहरूका अनुभव आदान प्रदान‚ सहकार्य‚ अनुसन्धान तथा  संयुक्त गोष्ठि‚ सेमिनार‚ कार्यशाला एवम् शैक्षणिक तथा परियोजनात्मक कार्य‚ छात्रवृत्ति तथा प्राज्ञिक क्रियाकलापहरू एक आपसमा मिलेर सञ्चालन गर्ने र अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्ने गरी भएको द्विपक्षीय सम्झौताअनुसार पहिलो चरणमा सो विश्वविद्यालका सहप्राध्यापक डा. विशाल भुईँयानले सुकुना बहुमुखी क्याम्पसमा फागुन २९ गते देखि चैत्र ५ गतेसम्म ७ दिनका लागि ती विषयहरूमा सहजीकरण सम्पन्न गरेका छन् ।

यस अवधिमा भुईँयानले एमबिएस‚ बिबिएस र बिबिएका सबै कक्षाहरू विद्यार्थी तथा शिक्षकहरूलाई शिक्षण सिकाइ‚ शैक्षणिक विधि‚ शिक्षणमा प्रविधिको प्रयोग‚ मूल्याङ्कनका नविनतम विधिहरू‚ ज्ञानको विश्वबजारीकरणका उपाय‚ पठन तथा लेखन एवम् प्रकाशन संस्कृतिका विषयमा विश्वविद्यालयका अनुभव र प्रयोगका विषयमा सहजीकरण गरेका थिए  । विदेशी विज्ञबाट गेष्ट लेक्चररका रुपमा कक्षा लिँदा विद्यार्थीहरू खुशी र उत्साहि भएको जानकारी बिबिए डाइरेक्टर शङ्कर देवानले बताए  ।

sukuna2
सहजीकरणका क्रममा क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ र आसाम डाउन टाउन युनिभर्सिटिले मिलेर गर्न सकिने अनुसन्धान तथा प्रकाशनका क्षेत्रहरूका विषयमा गहनतम छलफल गरिएको र यसबाट क्याम्पसले अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरू सँग पहुँच विस्तार गरी विद्यार्थीहरूलाई ती अनुसन्धानमा जोड्न सकिने अवस्था सिर्जना भएको  सहायक क्याम्पस प्रमुख एवम् अनुसन्धान एकाइ प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए।  

विदेशी गेष्ट लेक्चररबाट कक्षा सहजीकरण कार्य गराउँदा शिक्षक र विद्यार्थीका बिचमा रहेका कतिपय विषयबस्तुहरूमा देखिने ज्ञानको खाडल पूरा गर्न सहयोग पुगेको र डा. भुईँयानको अथाहा ज्ञानको भण्डारबाट क्याम्पसले भरपुर फाइदा लिन सकेको अर्का सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले बताए ।
 सोमबार विहान क्यापस सञ्चालक समिति‚ लेखा तथा पुनरावेदन समिति‚ सहायक क्याम्पस प्रमुखहरु र विभागीय प्रमुखहरूको उपस्थितिमा क्याम्पसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिला विभागद्वारा आयोजना गरिएको विदाइ कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले विदेशी विश्वविद्यालयका विज्ञ डा. भुईँयानलाई माला‚ खादा‚ नेपाली टोपि लगाएर कदर तथा प्रशंसापत्र र मायाको चिनोसहित विदाइ गरिएको छ । 

विदेशी विश्वविद्यालयका अनुभव सुन्दा र उनीहरूको समर्पण तथा शिक्षण कौशल हेर्दा शिक्षक तथा विद्यार्थीहरूले नौलो र रमाइलो अनुभुति भएको व्यवस्थापन वभागका विभागीय प्रमुख उमेश उप्रेतीले बताएका छन् ।

sukuna डा. भुईँयानले क्याम्पसको भौतिक‚ प्राज्ञिक र सामुहिक क्रियाकलाप हेर्दा सुकुना क्याम्पस कुनै विश्वविद्यालयभन्दा कम नरहेकोमा सन्तोष व्यक्त गर्दै छिटै अर्को टोलि लिएर आउने प्रतिवद्धता जाहेर गरेका छन् । सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले विदाइ मन्तव्य राख्दै क्याम्पसले पनि आफ्नो विज्ञ टोलीलाई अनुभव आदान प्रदानका लागि आसाम डाउन टाउन पठाउने विचार राख्दै अतिथि डा. भुईँयान र आसाम डाउन टाउन युनिभर्सिटि‚ गुवाहाटि‚ भारतलाई धन्यवाद ज्ञापन गरेका छन् ।

 यहि हप्तामा क्याम्पस र  बङ्गलादेशको युनिभर्सिटि अफ इन्फरमेसन टेक्नोलोजी एण्ड साइन्सेजको संयुक्त बैठक बस्ने क्याम्पसका अधिकृत नवराज कोइरालाले जानकारी दिएका छन् ।