विराटनगर — छात्रालाई कुटपिट तथा  दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी विराटनगर— ८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मी  धरौटीमा थुनामुक्त भएकी छन् ।

अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी रेग्मीलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको इजालासले ४१ हजार रुपैयाँ धरौटी तोकेको थियो ।  तोकेको धरौटी रकम बुझाएर मंगलबार रेग्मी रिहा भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले बताए  ।

विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि हातपात गर्दै दुर्यबहार गरेको आरोपमा रेग्मी गत बुधबार पक्राउ परेकी थिइन् ।  प्रहरीले उनलाई अभद्र व्यवहारको मुद्दमा म्याद थप गरी अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरेपछि मोरङ प्रशासनमा अभियोग बुझाएको थियो ।

होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि रेग्मीले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात गरेकी थिइन् । रेग्मीले  नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात तथा दुर्व्यवहार गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो ।