पूर्वपश्चिम एसियन राजमार्ग बिस्तारका लागि मोरङको कानेपोखरीबाट किनारका रुख काट्न थालिएको छ ।

दुई लेन’सडकलाई चार लेनमा बिस्तार गर्ने योजना अनुरुप   मंगलबारदेखि रुख कटान सुरु भएको हो ।

सो क्षेत्रमा राजमार्ग विस्तारका क्रममा १२ हजारभन्दा बढी रूख कटान हुनेछन् । एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँ सहयोग र सोही लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व पश्चिम राजमार्गको १ सय २० किलोमिटर क्षेत्र चार लेनको बनाइनेछ ।

एसियाली विकास बैंकको सहयोगमा पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १ सय २० किलोमिटर सडक बिस्तार गरी चार लेनको बनाउने काम अघि बढेको सडक आयोजना प्रमुख जगत प्रजापतीले बताए ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले राजमार्ग बिस्तारका लागि  रुख कटानको सुरुवात गरेका छन् ।

राजमार्गलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाउने योजना छ । 

सो क्षेत्रमा ७१ वटा नयाँ पुलसहित राजमार्ग विस्तार हुनेछ ।  एसियाका ३२ मुलुकलाई जोड्ने ‘एसियाली राजमार्ग अन्तर्गत मेचीपुल निर्माणसँगै झापामा एक किलोमिटर सडक निर्माण भइसकेको छ ।