काठमाडौँ — दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ परेका छन् ।  भारतीय प्रवर्तन निर्देशनलय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई केही बुधबार साँझ  पक्राउ गरेको हो । 

दिल्ली सरकारका स्वास्थ्य, पर्यटन तथा सहरी विकासमन्त्रीसमेत रहेका आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको पुष्टि गरेका छन् । साथै पक्राउविरुद्ध पार्टी सर्वोच्च अदालत पुगेको पनि उनले बताए।

भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रो पटक हो । यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो ।

दिल्लीमा यसअघि शिक्षामन्त्रीसमेत रहेका उपमुख्यमन्त्री मनीष सिसोदिया र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पनि भ्रष्टाचार आरोपमा पक्राउ गरिएको थियो । 

कथित मदिरा घोटाला प्रकरणमा करिब २ घण्टाको सोधपुछपछि ईडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको हो । दिल्लीमा कथित शराब मामिलामा करिब १ सय करोड भारतीय रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टीका  नेताहरूले पक्राउ परे पनि केजरीवाल मुख्यमन्त्री पदमा रहिरहने दाबी गर्दै आएका छन् ।  दिल्लीमा मुख्यमन्त्री निवासबाहिर पार्टीका नेता कार्यकर्ताको भिड लागेको छ ।