काठमाडौं —  भारतस्थित  बिहारको कोशी नदीबाट एउटा ठूलो दु:खको खबर आएको छ। कोशी नदीमा निर्माण भइरहेको पुलको स्ल्याब शुक्रबार बिहान  खसेको छ । जसका कारण एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ  ।

स्ल्याब मुनि ४० भन्दा बढी मजदुर पुरिएका छन् । कम्पनीको व्यवस्थापन घटनास्थलबाट फरार भएको भारतीय सञ्चार माध्यममा  समाचार आएको छ । ट्रान्सलान कम्पनीले उक्त पुलको निर्माण गरिरहेको थियो । मृतकको संख्या अझै बढ्न सक्ने  आशंका छ । बिहारमा पुल दुर्घटना भएको यो पहिलो पटक होइन, यसअघि पनि यस्ता धेरै घटना भएका छन् । 

१० दशमलव २ किलोमिटर लामो यो मेगा पुल १२ सय करोडको लागतमा निर्माण भइरहेको थियो ।  यो पुलमा १ सय ७१ वटा पिलर बनिरहेका छन् । १६६ वटा स्तम्भको निर्माण सम्पन्न भएको छ । यो पुलले नेपाल, बंगलादेश र भुटानलाई जोड्ने छ । 

कोसीको सुपौल र मधुबनीबीच निर्माण भइरहेको यो मेगा ब्रिजको छेउ दुवैतर्फको तटबन्धसँग सिधै जोडिएको छ । जसका कारण यो देशकै सबैभन्दा लामो पुल बन्नेछ । सन् २०२३ मा उद्घाटन गर्ने भनिएपनि कोरोनाका कारण मार्च २०२४ सम्म लम्बिएको थियो । यस्तै गत वर्ष पनि बिहारको भागलपुरमा पुल भत्किएको थियो ।