बेलबारी — मोरङको बेलबारीमा आयोजित प्रथम प्रदेश स्तरीय अन्तर पालिका उप–मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बेलबारीलाई ६ विकेटले हराउँदै धरान सेमिफाइनलमा प्रबेश गरेको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको धरानले बेलबारीलाई १९ औँ ओभरमा अल आउट गर्दै ९२ रनमा सिमित पारेको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको धरानले ४ विकेटको क्षतिमा १३ दशमलव १ विकेट खर्चिएर आफ्नो लक्ष्य पुरा गर्यो । ठानेश्वर जोशीको सर्वाधिक ३० रनको मद्दतमा धरानले जित निकालेको हो ।
बेलबारी ४ स्थित बेतना ग्राउन्डमा भएको खेलमा धरानका खेलाडीहरू कृष्ण यादव र नवराज देवले सर्वाधिक ३ ३ विकेट लिए ।
यता बेलबारीको तर्फबाट भने अनुराग खत्रीले सर्वाधिक २८ रन जोडे भने खेलमा अन्य ४ खेलाडीले १ १ विकेट लिएका थिए । खेलको मेन अफ द म्याच धरानका कृष्ण यादव बनेका छन् । उनले ट्रफिसहित नगद रु २ हजार पुरस्कार पाएका छन् ।
बेलबारी नगरपालिकाको आयोजना र बेलबारी क्रिकेट क्लबको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा कोशी प्रदेश क्रिकेट संघ र मोरङ क्रिकेट संघले प्राविधिक सहयोग गरेका छन् ।
आगामी चैत्र १७ गते सम्म सञ्चालन हुने उप मेयर कपमा ८ वटा पालिकाका टोली सहभागी छन् । आइतबार बिहान ९ बजे हुने खेलमा इनरुवा नगरपालिका र पथरी शनिश्चरे नगरपालिका भिड्ने छन् भने दिउँसो १ बजेबाट हुने दोस्रो खेलमा भद्रपुर नगरपालिका र इटहरी उपमहानगरपालिका बिच प्रतिस्पर्धा हुनेछ ।




















