विराटचोक — नेकपा एकीकृत समाजवादी सुन्दरहरैंचा नगर कमिटीले नगरपालिकाको कार्यशैली, गतिविधि र काम कारबाहीहरुप्रति असन्तुष्टि जनाउँदै सुन्दरहरैँचा नगरपालिकामा मागपत्र बुझाएको छ ।
पूर्व गाबिस अध्यक्ष तथा संविधान सभाका सभासद चन्द्रबहादुर गुरुङको नेतृत्वमा सयौं नेता कार्यकर्तासहित नगरपालिका पुगेको एकीकृत समाजवादीले सुन्दरहरैँचा नगरपालिकालाई मागपत्र बुझाएको हो ।
तर पुर्व जानकारी दिएर मागपत्र बुझाउन गएपनि मेयर केदार गुरागाइँ भागेको आरोप समाजवादीले लगाएको छ । मेयरलाई नभेटेपछि मागपत्र प्रमुख प्रशाशकीय अधिकृत बिनोद न्यौपानेलाई बुझाइएको छ । नगरपालिकाले भने कार्यब्यातताका कारण मेयरले मागपत्र बुझ्न नभ्याएको दाबी गरेको छ ।
मागपत्रमा सुन्दरहरैंचा नगरपालिकाका काम कारबाही र गतिविधिहरू पार्टीले सूक्ष्म ढङ्गले नियाली रहेको उल्लेख गर्दै जनता र सेवाग्राहीहरूका माग र गुनासाका विषयहरूलाई समेटेर गम्भिर ध्यानाकर्षण गराइएको र ती मागहरूलाई समयमा नै यथोचित सम्बोधन गर्ने पहल नगरिए सङ्घर्षका थप कदम चाल्न बाध्य हुने उल्लेख गरिएको छ ।
एकीकृत समाजवादी सुन्दरहरैचा अध्यक्ष तिलकप्रसाद ढकालद्वारा हस्ताक्षरित मागपत्रमा अव्यवस्थित बसोबाएएहरुलाई चाँडै घनीपुर्जा दिन, सिमसार तथा पर्यटकीय स्थलहरुको बिकास गर्न, नगरपालिकाभित्र क्षेत्रीय रङ्गशाला बनाउन, शिक्षक सरुमामा लिइने शुल्क हटाउन, अशक्त र गरिब जनतालाई पारदर्शी रूपमा निःशुल्क औषधी वितरणको व्यवस्था गर्न , जथाभावी इन्धन बितरण रोक्न र आयुर्वेद केन्द्र स्थापना गर्न माग गरिएको छ ।
यस्ता छन् मगहरु (जस्ताको तस्तै)
१) सुन्दरहरैंचा नगरपालिकाभित्र बाध्यतापूर्वक अव्यवस्थित बसोबासमा परेका जनतालाई यथाशीघ्र धनीपुर्जा वितरण गरीबसोबासलाई व्यवस्थित गर्ने पहल गरियोस् ।
२) सुन्दरहरैंचाभित्रका महत्त्वपूर्ण प्राकृतिक सिमसार क्षेत्रहरूलाई व्यवस्थित पर्यटकीय स्थलमा रूपान्तरण गर्न बजेट विनियोजन गरियोस् ।
३) राजमार्ग तथा सार्वजनिक सडकहरूमा निर्माण सामग्री एवम् व्यक्तिगत सामानहरू थुपारेर आवागमनमा अवरोध गर्ने र दुर्घटनाको जोखिम बढ्ने समस्याहरूलाई समाधान गर्न साहसिक र उपयुक्त कदम तुरुन्त चालियोस् ।
४) सुन्दरहरैंचा नगरपालिकाभित्र उपयुक्त स्थानमा क्षेत्रीय रङ्गशाला बनाउन आवश्यक बजेट विनियोजन गरियोस् ।
५) शिक्षकहरूको सरुवामा लिइने गरिएको शुल्क र उमेरहदको पाबन्दी सङ्घीय शिक्षा ऐन विपरीत भएकाले तुरुन्त बन्द गरियोस् ।
६) अनुमति प्राप्त गरी माथिल्लो कक्षा सञ्चालन (अपग्रेड) भएका विद्यालयहरूलाई विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक अनुदान/दरबन्दीको व्यवस्था गरियोस् साथै अपारदर्शी ढङ्गले कक्षा स्तरोन्नति गर्ने प्रथाको अन्त्य गरियोस् ।
७) सुन्दरहरैंचाभित्रका सार्वजनिक जग्गाहरूको संरक्षण र व्यवस्थित उपयोगमा नगरपालिकाले उचित पहल गरोस् ।
८) अशक्त र गरिब जनतालाई निःशुल्क औषधी वितरणको व्यवस्थालाई पारदर्शी बनाइयोस् ।
९) विराटचोक घिनाघाट सडकखण्डमा पर्ने सुन्दरहरैंचाभित्रका निर्माणाधीन अधुरा सडकहरूलाई पूरा गर्न पहल गरियोस् ।
१०) सुन्दरहरैंचा नगरपालिकाभित्र भौतिक निर्माण सम्बन्धी भुक्तानी दिनुपर्ने रकम तुरुन्त निकासा गरियोस् ।
११) निर्माणाधीन अधुरो योजनाहरू शीघ्र पूरा गरियोस् ।
१२) किसानहरूका लागि वडास्तरमा कृषि र पशुपालनसम्बन्धी व्यवस्थित र फलदायी तालिम सञ्चालन गरियोस् ।
१३) प्रत्येक वडामा कृषि बजारको व्यवस्था गरियोस् साथै समयमा मलखाद, बिऊ, कृषिऔजार र कीटनाशक औषधीको प्रबन्ध गरियोस् ।
१४) सुन्दरहरैंचा नगरपालिकामा गठित विभिन्न विषयगत समितिहरुको यथाशीघ्र बैठक बसी निर्णय सार्वजनिक गरियोस् ।
१५) नगरपालिकाले अनियमित र अपारदर्शी ढङ्गले अनाधिकृत व्यक्तिहरूलाई इन्धन वितरण गरी जनताको सार्वजनिक सम्पत्तिलाई दुरुपयोग नगरियोस् ।
१६) आवश्यक स्थलमा सीसी क्यामेरा र सडक बत्ती जडान तथा मर्मत एवम् बिजुलीका पोलहरूमा टाँगिएका केवल-नेटका तारहरूलाई व्यवस्थित गरियोस् ।
१७) विद्यालय क्षेत्रमा सडक ट्राफिकको व्यवस्था गरी दुर्घटना र ध्वनि प्रदूषणलाई न्यूनीकरणका लागि यथाशीघ्र पहल गरियोस् ।
१८) नगरपालिकाभित्र आयुर्वेद केन्द्रको स्थापना गरियोस् ।
१९) भोटर कार्ड भएका व्यक्तिलाई बसाईसराईको झन्झट नलगाइयोस् ।




















