बिर्तामोड  —   झापामा जङ्गली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ श्रीमान् घाइते भएका छन् । हात्तीको आक्रमणबाट शिवसताक्षी- ११ का ६० वर्षीया पवित्रा भेटवालको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

त्यस्तै उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटि अस्पताल पठाइएको प्रहरी निरीक्षक गिरीले बताए ।

शिवसताक्षी नगरपालिका -११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा बुधबार साँझ दाउरा लिन गएका बेला उनीहरुलाई  हात्तीले आक्रमण गरेको हो ।

दुई वटाको संख्यामा आएका हात्तीले भेटवाल दम्पतीलाई आक्रमण गरेका थिए । घटनामा कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।