विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका ६ की दलित महिला वडा सदस्य तथा कार्यपालिका सदस्य टुनाकुमारी बिक केही दिनअघिदेखि थुनामा परेकी छिन्  । केही वर्षअघिको एक घटनामा अदालतबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएको र कानुनको नजरमा फरार सूचीमा रहेकी बिक गत शुक्रबारदेखि थुनामा परेकी हुन् ।

शुक्रबार आफुलाइ तोकिएको कैद माफी मिनाहा गरिपाउँ भनी निवेदनका साथ अदालतमा उपस्थित भएकी बिकको    निवेदन शुक्रबार सुनुवाइ गर्न समयले नभ्याइएको र उपस्थित अभियुक्तलाई छाड्न नमिल्ने भएकोले निवेदनको सुनुवाइ  नभएसम्मको लागि कारागार पठाइएको जिल्ला अदालत मोरङका शाखा अधिकृत तथा सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।

बिकका विरुद्ध केही वर्षअघि ज्यान मार्ने उद्योग, कुटपिट र जातीय छुवाछूतको मुद्दा लागेको थियो । फौजद्मुद्दामा अदालतले बादी र प्रतिवादी दुवै पक्षलाई दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको थियो । बादी पक्षधरले कैद भुक्तान गरिसके पनि ३ महिना कैद र केहि रकम जरिवाना तोकेको थियो । तर कैद र जरिवाना भुक्तान नगरेकी बिकले एक बर्षसम्म कैद तोकिएको हकमा फौजदारी संहिताको दफा १५५ बमोजिम जिल्ला अदालतमा जरिवाना तिरेर कैद मिनाहाका लागि निवेदन दिएकी थिइन् ।

सुवेदीका अनुसार बिकको निवेदनको  पेशी चैत १६ गते शुक्रबार (भोलि) तोकिएको छ । शुक्रबार निवेदनको सुनुवाइ भई अदालतले  जरिवाना तिरेर छुट्ने सुविधा दिए बिक जरिवाना तिरेर तत्काल छुट्न सक्ने अन्यथा ३ महिना कैद भुक्तान गरेपछि छुट्ने जिल्ला अदालत मोरङले जनाएको छ ।  

सुन्दरहरैंचा नगरपालिका ६ का वडाध्यक्ष सन्तोष लिङ्देनले बिक थुनामा परेकोबारे प्रतिक्रिया माग्दा आफुले पनि  हल्ला सुनेको तर वास्तविकता थाहा नभएको बताए  । कार्यपालिका सदस्य समेत रहेकी बिक थुनामा परेको बारे  नगरपालिकाले पनि हालसम्म यसबारे कुनै जानकारी नभएको जनाएको छैन  ।  बिहिबार सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशन प्रसाद ढकाललाइ यसबारे सोध्दा आफुलाई  कुनै जानकारी नभएको बताए।  ढकालले भने  - 'आज कार्यपालिका बैठक छ, आउनुभएन भने के रहेछ बुझौंला तर अहिलेसम्म केही जानकारी छैन ।’