सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार सात सय २६ व्यक्ति गम्भीर घाइते भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुर्घटनाका कारण नेपालमा एक हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् । यसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेको छ । मधेस प्रदेशमा मात्र साउनदेखि माघ मसान्तसम्म दुई सय ९० जनाले ज्यान गुमाएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल बताउँछन् ।
यस्तै, लुम्बिनी प्रदेशमा दुई सय ६१, कोशी प्रदेशमा दुई सय १९, बागमती प्रदेशमा एक सय ७३, सुदूरपश्चिम प्रदेशमा एक सय चार, गण्डकी प्रदेशमा एक सय, काठमाडौँ उपत्यकामा ९६ र कर्णाली प्रदेशमा ६० जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । सोही अवधिमा २३ हजार पाँच दुर्घटना भएका छन् ।
दुर्घटना भएकामध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ११ हजार छ सय १९, मधेस प्रदेशमा पाँच हजार ८०, कोशी प्रदेशमा दुई हजार आठ सय ३०, बागमती प्रदेशमा एक हजार दुई सय २१, लुम्बिनी प्रदेशमा नौ सय २९, कर्णाली प्रदेशमा आठ सय छ, गण्डकी प्रदेशमा दुई सय ९२ र सुदूरपश्चिम प्रदेशमा दुई सय २८ दुर्घटना भएको प्रहरी प्रवक्ता ढकाल बताउँछन् ।
चालु आवको साउनदेखि माघ मसान्तसम्म सवारी दुर्घटनाबाट तीन हजार छ सय ४३ यात्रु गम्भीर घाइते भएका छन् भने १५ हजार सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आव २०७६–७७ मा दुई हजार दुई सय ५१, आव २०७७–७८ मा दुई हजार पाँच सय, आव २०७८–७९ मा दुई हजार आठ सय ८३ र आव २०७९–८० मा दुई हजार तीन सय ६८ ले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । यस्तै आव २०७६–७७ मा चार हजार छ सय १५, आव २०७७–७८ मा छ हजार चार सय ४८, आव २०७८–७९ मा सात हजार दुई सय ८२ र आव २०७९–८० मा पाँच हजार सात सय ३८ जना सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका छन् ।
उपत्यकामा मात्र सवारी दुर्घटनाबाट एक सय १७ को मृत्यु
सवारी दुर्घटनाबाट देशभर हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदा काठमाडौँ उपत्यकामा मात्र एक सय १७ जनाले ज्यान गुमाएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले दिएको जानकारीअनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा भएका विभिन्न दुर्घटनामा परेर एक सय १७ जनाले अकालमा ज्यान गुमाएका हुन् ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठ उपत्यकामा चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् । “साँघुरो सडकमा चालकले लापरवाही गरेर सवारीसाधन चलाउँदा बढी दुर्घटना हुने गरेको देखिन्छ”, उनी भन्छन् ।
कार्यालयका अनुसार चालु आवमा चालकको लापरवाहीबाट चार हजार तीन सय ४५, तीव्रगतिका कारण एक हजार नौ सय ४८, मादक पदार्थ सेवनका कारण चार सय ७५, यान्त्रिक गडबढीका कारण ६४, ओभरटेकका कारण ७६, सडकको अवस्थाका कारण १३ र अन्य कारण ९७ दुर्घटना भएका छन् ।