काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ आज पनि विगतझैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ।
समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। हालको विशेष राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष झाँकीलगायतका सांस्कृतिक कार्यक्रम भने स्थगित गरिएको छ।
नेपाली जनताको लामो बलिदान र संघर्षको परिणामस्वरूप संविधानसभा मार्फत २०७२ असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो। दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले लामो बहस र परामर्शपछि ‘नेपालको संविधान, २०७२’ सर्वसम्मत रूपमा स्वीकृत गरेको हो।
२०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको संविधानसभा बैठकबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए।



















