बेलबारी— मोरङको बेलबारीमा आयोजित प्रथम कोशी प्रदेश स्तरीय अन्तर पालिका उप -मेयर कप क्रिकेट प्रतियोगिता २०८० को उपाधि भद्रपुरले चुमेको छ । शनिबार भएको फाइनल खेलमा विराटनगरलाई ९ रनले पराजित गर्दै भद्रपुरले उपाधी जितेको हो ।
पहिले टस जितेर ब्याटिङ रोजेको भद्रपुरले १९ दशमलव ४ ओभरमा अल आउट हुँदै १ सय ६१ रन बनाएको थियो । भद्रपुरका सिद्धान्त कुमालले २९ बल खेल्दै सर्वाधिक ४४ रन र फजर रेहमानले २६ बल खेल्दै ३२ रन बनाएका थिए । भद्रपुरको तर्फबाट बसन्त कुँवरले ३ दशमलव ५ ओभर बलिङ गर्दै ४८ रन खर्चिएर ३ विकेट लिए ।
प्रतियोगिताको उपबिजेता बनेको बिराटनगर १९ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ५१ रनमा सिमित भयो । बिराटनगरका लागि कपिल मनलाले १३ बल खेल्दै ३ छक्का र २ चौका हान्दै २८ रन जोडे भने दिपक पासवानले २६ रन खर्चिएर २७ रनको योगफल बनाए । बलिङतर्फ बिराटनगरका दिपेश कँडेल र अमन अलिले तीन -तीन विकेट लिए । फाइनल खेलको म्यान अफ द म्याच भद्रपुरका सिद्धान्त कुमाल बने भने म्यान अफ द सिरिज बिराटनगरका दिपेश कँडेल भए । प्रतियोगितामा भद्रपुरका दिपेश कार्की बेस्ट ब्याट्स्ट म्यान अफ द सिरिज र बिराटनगरका अमन अलि बेस्ट बलर अफ द सिरिज बने । प्रतियोगितामा बेलबारीका अनुराग खत्रीले उदीयमान खेलाडी पुरस्कार पाएका छन् ।
क्रिकेट प्रतियोगिताको बिजेता भद्रपुरले १ लाख नगदसहित ट्रफी र मेडल पाएको छ भने बिराटनगरले ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी र मेडल पाएको छ । बिजेता र उपबिजेता टीम र खेलाडीहरुलाइ बेलबारीका मेयर, उपमेयर, कोशी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी लगायतले उपाधी र पुरस्कार बितरण गरे ।




















