सिन्धुपाल्चोक — तीनजना युवतीलाई भारतको यौन कोठीमा पुर्‍याएर एक/एक लाखमा बेचेर फरार भएका दुई जनालाई प्रहरीले  १६ वर्षपछि पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–४ का ३८ वर्षीय बच्चु बिक र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भन्ने दावा लामा छन् ।

प्रहरीका अनुसार पक्राउ परेका बिक र लामासहितका व्यक्ति मिलेर २०६४ माघ ५ गते आकर्षक वैदेशिक रोजगारमा लेवनान पठाउने भन्दै तीनजना युवतीलाई जालमा पारेका थिए। सिन्धुपाल्चोकका ती युवतीलाई सिन्धुपाल्चोकबाट काठमाडौं हुँदै वीरगन्ज पुर्‍याएर त्यहीबाट भारतको सहिदनगर भन्ने स्थानमा पुर्‍याइएको थियो।

गिरोहले त्यहाँको एक यौन कोठीमा युवतीहरूलाई एक–एक लाखमा बिक्री गरी जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको प्रहरीले जनाएको छ।

सोही घटनामा संलग्न भएका बिक र लामालाई मानव बेचबिखन तथा ओसारपसारका तीन थान मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको २०७८ फागुन १ गतेको फैसलाले दोषी ठहर गरी सजाय सुनाएको थियो।

जसमा विकलाई ३० वर्ष कैद, तीनलाख जरिवाना र लामालाई ६० वर्ष कैद छ लाख जरिवाना सुनाएको प्रहरीले जनाएको छ।

उक्त फैसलापछि पनि दुवैजना फरार थिए। पछिल्लो समय उनीहरू काठमाडौंमा लुकीछिपी बसेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा सिआइबीको टोलीले बिकलाई यही चैत ५ गते काठमाडौं बुढानीलकण्ठ नगरपालिका–१२ कपनबाट पक्राउ गरेको थियो।

यस्तै लामालाई चैत १६ गते ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथलीबाट पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए।

पक्राउपछि दुवै जनालाई सिआइबीले जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । अदालतले दुवै जनालाई कारागार चलान गरिसकेको छ ।