एजेन्सी — इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियनका रोहित शर्मा आउट हुँदा खुसीयाली मनाउने हैदराबादका समर्थकको हत्या भएको छ । ।
आईपीएलको सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेलका क्रममा खुसीयाली मनाउने हैदराबादका ६३ वर्षीय किसान बन्दोपन्त तिबिलेको हत्या भएको हो ।
हैदराबादका बलरले मुम्बई इन्डियन्सका ओपनर ब्याट्सम्यान रोहित शर्माको विकेट लिएपछि खुसीयाली मनाउने बन्दोपन्त हैदराबादका समर्थक थिए। मुम्बईका समर्थकले उनको हत्या गरेको समाचारमा जनाइएको छ ।
उक्त खेलमा दुई सय ७८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईका ओपनर ब्याट्सम्यान रोहित शर्मालाई हैदराबादका बलर प्याट कमिन्सले अभिषेक शर्माद्वारा क्याच गराएका थिए । त्यतिबेला रोहित शर्मा २६ रन बनाउँदै क्रिजमा थिए ।
प्रहरीकाअनुसार, बलवंत झांझगे र सागर झांझगे अन्य केही व्यक्तिसँग मिलेर भारतको कोल्हापुर हनमंतवाडी क्षेत्रको एउटा घरमा मुम्बई र हैदराबादबिचको खेल हेरिरहेका थिए ।
पहिले ब्याटिङ गरेको हैदराबादले विशाल रन बनाएपछि मुम्बईका समर्थकहरू आक्रोशित देखिएका थिए । रोहित आउट हुनासाथ हैदराबादका समर्थक बांदुपंत पनि खुसीयाली मनाउँदै त्यहाँ पुगे ।
रोहित शर्मा नै आउट भएपछि मुम्बईको हार निश्चित भयो भन्दै उनी खुसीयाली मनाउँदै थिए । त्यसपछि मुम्बईका आक्रोशित समर्थक बलवंत र सागरले बांदुपंतमाथि अचानक आक्रमण गरे ।
उनीहरुले बांदुपंतको टाउकोमा लाठी र ढुङ्गाले पटक–पटक हिर्काएका थिए । खेल हेरिरहेका अन्य व्यक्तिले छुट्टाएर बांदुपंतलाई अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको प्रहरीले जनाएको छ । बलवंत र सागरलाई प्रहरीले हिरासतमा लिएको छ ।




















