विराटचोक — आठ लाख बराबरको चाँदीका गहनासहित एकजनालाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ । आठ लाख ७४ हजार ५ सय ५२ रुपैयाँ बराबरको चाँदीको तयारी गरगहनासहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा कानेपोखरी गाउँपलिका ६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई मोरङको बेलबारी नगरपालिका ७ बाहुनीबाट नियन्त्रणमा लिएको हो ।
खत्रीलाई १७ केजी नौ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले नियन्त्रणमा लिइएको शशस्त्र प्रहरीले जनाएको छ ।
शुरुमा प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार खत्रीले लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा १२ केजी दुई सय ११ ग्राम चाँदीको गरगहनासहित नियन्त्रणमा लिइएको थियो ।
पछि उनकै सूचनाको आधारमा सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको अवस्थामा पाँच केजी सात सय ४९ ग्राम चाँदीको तयारी गरगहना सुरक्षा बेस बाहुनी र सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको सुरक्षा फौजले बरामद गरेको थियो ।
उनलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।




















