झापा — सहकारी संस्थाहरुमा तोडफोड र चोरी हुने क्रममा झापा गौरादहका एकैरात गौरादहका दुईवटा सहकारीमा चोरी भएको छ ।
मंगलबार राति गौरादह ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीको कार्यालय र गौरादह ५ चप्रामारीमा रहेको महारानी झोडा सहकारीमा गएराति नै चोरी भएको हो ।
घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरी टोली खटाइएको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यसअघि गत चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको थियो । त्यस्तै केही दिनअघि हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको हल्दिवारीको मंगलबारेमा रहेको शाखामा चोरी गर्ने प्रयास भएको थियो ।
त्यस्तै कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोडका घटना भएका थिए । गत फागुन १० गते जिल्लाका विभिन्न सहकारी संस्थाहरुमा लगातार भइरहेको चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको थियो।
झापा मात्रै होइन, मोरङका सहकारीमा पनि चोरी हुने क्रम बढेको छ । २०८० फागुन १५ गते लेटाङको एकीकृत जनचाहना सहकारीको १३ लाख डकैती भएको थियो । दुई हप्ताअघि सुन्दरहरैँचाको खोर्सानेमा अबस्थित हातेमालो बहुउद्देश्यीय सहकारी र यसैहप्ता बेलबारीको लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लि. मा पनि चोरी भएको थियो ।
झापा र मोरङका करिब दर्जन सहकारीमा उस्तै उस्तै शैलीमा चोरी भएपनि चोरहरु पत्ता नलाग्दा सुरक्षा चुनौती थपिएको छ ।




















