मोरङ — मोरङको केराबारीमा गाउँ प्रवेश गरेर आतंक मच्चाउने एउटा राँगोलाई गोली हानेर मारिएको छ।केराबारी गाउँपालिका–८ आमजुंगीस्थित खेतमा देखा परेको बेवारिसे राँगोलाई मंगलबार साँझ  गोली हानिएको हो।

इलाका प्रहरी कार्यालय केराबारीबाट वरिष्ठ प्रहरी नायव निरीक्षक (सइ) केदार सापकोटा नेतृत्वको टोलीले मार्का फोर राइफलबाट २ राउण्ड गोली प्रहार गरेर राँगोलाई मारेको थियो।

एक राउण्ड गोलीले नमरेपछि अर्को राउण्ड पनि गोली हान्नु परेको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार अचानक गाउँमा देखा परेको राँगोले मान्छेलाई जथाभावी आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिने प्रयास गरिएको थियो। नियन्त्रणमा लिन सम्भव नभएपछि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको आदेशमा गोली हानेर मारिएको प्रहरीले जनाएको छ। 

राँगोले हानेर ८० वर्षीय ८० वर्षीय गन्जबहादुर घाइते

राँगोले हानेर केराबारी–८ का ८० वर्षीय गन्जबहादुर कार्की घाइते भएका छन्। घाइते कार्कीलाई उपचारका लागि विराटचोकस्थित सुकुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ।

खेतमा देखा परेको राँगो खेदाउने क्रममा साँझ ५ बजेर ४० मिनेटतिर कार्कीलाई आक्रमण गरेको थियो। त्यसलगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीयसहितको टोलीले राँगोलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए। पहिले नै घाइते अवस्थामा रहेको राँगोले यत्रतत्र भौतारिएर बहुलाएको जस्तो व्यवहार देखाउन थालेपछि स्थानीय त्रसित एवं आतंकित बनेका थिए। राँगो कसको हो र कहाँबाट आएको थियो भन्ने खुलेको छैन।

यो पनि — कर्मचारीहरुको करार सम्झौता नवीकरणमा हेलचेक्र्याइँ गर्दै सुन्दरहरैँचा नगरपालिका