सुनसरी — शुक्रबार बिहानबाट हिन्दु र मुसलमान समुदायका युवाहरुबिच झडप भएपछि अशान्त र  तनावग्रस्त बनेको सुनसरीको भुटाहा बजार आसपासका पाँच पालिकामा स्थानीय प्रशासनले अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कफ्र्यु आदेश जारी गरेको  हो । दिउँसो  हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरेको प्रसासनले साँझ थप तीन पालिकामा  कफ्र्यु आदेश जारी गरेको हो । 

शनिबार दिउँसो १ बजेपछि  हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रणबाहिर गएको थियो ।तनावग्रस्त क्षेत्रमा बाक्लो सुरक्षा तैनाथ भए पनि दुई पक्षको हुलका कारण सुरक्षाकर्मी पछि हट्नुपर्ने अवस्थाको सृजना भएपछि प्रहरीले चार दर्जन बढी अश्रुग्याँस र हवाइ फायर हानेको थियो । सो क्रममा केही घाइते पनि भएका थिए । घाइते भएका मध्ये तीन जनाको विराटनगरमा र एक जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भुटाहामा अघिल्लो दिन हिन्दु युवामाथि मुस्लिम युवा समूहले कुटपिट गरेका थियो। उक्त कुटपिटको विषयलाई लिएर स्थानीय हिन्दु समूहले उक्त घटनाको विरोधमा शुक्रबार बिहानैबाट प्रदर्शन चर्काएका थिए।

मुस्लिम समूहका युवाको कुटपिटमा परेका हिन्दु युवाले मुस्लिम धर्मसँग सम्बन्धित उश्रृङ्खल अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। त्यसपछि अवस्था झन्  जटिल बनेको थियो । 

प्रदर्शनकारीले गाउँपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय र प्रहरी पोष्टमा क्षति पुर्‍याएका छन्। सुनसरी प्रहरीले दिएको जानकारीअनुसार दिउँसो  ५१ राउण्ड बढी हवाई फायर भएको थियो ।

 दलीय प्रतिनिधि सहितको उपस्थितिमा प्रशासन कार्यालयमा बसेको बैठकले अनियन्त्रित बन्दै गएको भीडलाई संयमता अपनाउन पहल गरिदिन सरोकारवालासमक्ष आग्रह गरेको छ।