काठमाडौँ — वैशाख १५ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उपनिर्वाचनको लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । इलाम–२ र बझाङ १ (१) मा हुने उपनिर्वाचनको लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुने भएको हो ।
निर्वाचन आयोगका अनुसार दुवै क्षेत्रको मनोनयन दर्ता सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा हुने छ । मनोनयनपत्र दर्ता बिहान १० देखि ५ बजेसम्म हुने छ । चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने छ ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएको थियो ।


