पथरी — मोरङको पथरीशनिश्चरे-१ मा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयले आउने नयाँ शैक्षिकसत्रदेखि नयाँपन दिने भएको छ। शैक्षिक सत्र २०८१ मा विद्यालयमा पूर्ण रुपले मण्टेश्वरी सिकाइ विधि प्रयोग गरी प्रारम्भिक तहदेखि नै संस्कारसहितको बालकक्षाहरू सञ्चालन गर्ने भएको हो।
बारम्बार शैक्षिक गुणस्तर सुधारको प्रश्न उठ्ने गरेको भन्दै सो सवाल निरुपणका लागि विद्यालयमा कार्यरत सबै शिक्षक कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व विद्यार्थी समाजलगायत विद्यालयका विभिन्न संयन्त्रका जिम्मेवार सबैले आ- आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ।
यस विद्यालयले संघीय सरकारको शैक्षिक योजनाअनुसार नै सरकारले उपलब्ध गराउने जनक शिक्षा सामाग्री केन्द्रद्वारा मुद्रित एवम् प्रकाशित पाठ्यतालिका, पाठ्यपुस्तक र पाठ्यविधिमा आधारित रहँदै प्रयोगमैत्री पठनपाठनमा ध्यान केन्द्रित गर्ने संकल्प लिएको छ।
यसैगरी विद्यालयभित्र सञ्चालित शिक्षा, मानविकी, विज्ञान, वाणिज्य, कानुन, सिभिल इन्जिनियरिङ, ललिताकला , पत्रकारितालगायतका विभिन्न ८ ओटा विषय समूहअन्तर्गत विद्यार्थीमाझ "विविधतामा एकता र एकरुपता ल्याउने र विद्यार्थीले बोक्ने खैरो झोला प्रयोगमा ल्याइने भएको छ।
त्यस्तै विद्यार्थीको सर्टको कलरको भित्रको पेटि रातो हुनुपर्ने र छात्रा विद्यार्थीले रातै रंगको रिबन, हेडबिन आदि प्रयोग गर्नुपर्ने भएको छ ।
यसै विषयमा प्राचार्य अर्जुनकुमार बुढाथोकीले अगाडि भन्ने औसत कमजोर तर पढाइमा अब्बल दर्जाका मेधावी विद्यार्थीका लागि विद्यालयमा खडा गरिएको अक्षय कोषमार्फत छात्रवृत्तिको व्यवस्था गरिने बताए ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्काेटाले विद्यालयमा अभिभावक भ्रमण अनिवार्य गरिने र विद्यालय–विद्यार्थीको अनुभव सेयरिङसहित विद्यार्थी परामर्श कक्षा सञ्चालन गरिने जानकारी दिए । विशेषगरी जीवनोपयोगी शिक्षाको गुणस्तर सुधारसँगै सामाजिक उत्तरदायित्व सहितको जनशक्ति निर्माणमा जोड दिईने उनले भने श्री पञ्चायत माविमा पढ्नु - पढाउनु भनेको भविष्य सुनिश्चित गर्नु हो, जीवन बनाउने आधारशीला तयार गर्नु हो भन्ने मानक स्थापित गर्न पनि जिम्मेवार सबै व्यक्ति संकल्पबद्ध भएर लाग्ने जनाइएको बताए ।
प्रदेशमै नमुना विद्यालयको रूपमा परिचित यस विद्यालयमा सुविधा सम्पन्न भौतिक संरचनाहरू, दक्ष तथा अनुभवी प्राध्यापक तथा शिक्षक वर्ग, बालमैत्री तथा जीवन -उपयोगी शिक्षण क्रियाकलापहरू , डिजिटल प्रविधि तथा उच्चस्तरीय विज्ञान प्रयोगशाला , लाईब्रेरी, सवारीसाधनको सहज पहुँच आदिको प्रर्याप्त उपलब्धता रहेको छ।
यो भिडियो पनि हेर्नुहोस — कवाडीका सामानबाट मोरङका १५ वर्षे वालकले बनाए इलेक्ट्रिक बाइक



















