मोरङ — भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रमा एक पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ । भारतीय मिडियाका अनुशार मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको हो ।
दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार अन्य दुई जना नेपाली घाइते भएका छन् ।मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ ।
दुर्घटनामा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धीरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेतको मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।
गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।




















