काठमाडौं –भारतको हरियाणामा बिहीबार विद्यालयको बालबालिका बोकेको बस रुखमा ठोक्किएर पल्टिँदा ६ बालबालिकाको मृत्यु भएको छ । यस घटनामा करिब २० जना घाइते भएका छन् । घटनापछि प्रहरीले कारबाही गरेको छ ।
विद्यालयका प्रधानाध्यापक र बस चालकसहित तीन जनालाई पक्राउ गरिएको छ । दुर्घटना हुँदा बस चालकले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । हरियाणाका शिक्षामन्त्री सीमा त्रिखाले अस्पतालमा घाइते विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । इदको अवसरमा बिदा भए पनि विद्यालय कसरी खुल्यो भनेर कारण देखाउ सूचना पठाइएको उनले बताए ।
राष्ट्रपति द्रौपदी मुर्मुले बस दुर्घटनामा स्कुल बालबालिकाको मृत्युको घटनालाई हृदयविदारक भएको भन्दै शोकसन्तप्त परिवारजनमा ‘यो निर्मम प्रहार’ सहन सक्ने शक्तिको कामना गरेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन्, ‘यो दुर्घटनामा आफ्ना सन्तान गुमाउने सबै परिवारसँग मेरो संवेदना छ। साथै घाइते बालबालिकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रदेश सरकारको रेखदेखमा स्थानीय प्रशासन पीडित र उनीहरुका परिवारलाई सक्दो सहयोग गर्न लागिपरेको छ ।
केन्द्रीय गृहमन्त्री अमित शाहले महेन्द्रगढ जिल्लामा सडक दुर्घटनामा छ जना विद्यार्थीको मृत्युमा गहिरो शोक व्यक्त गर्दै स्थानीय प्रशासनले घाइतेहरूलाई सबै सम्भव सहयोग उपलब्ध गराएको बताए। शाहले भने, ‘हरियाणाको महेन्द्रगढमा स्कुल बसको दुर्घटना निकै दुखद छ । मृतक बालबालिकाका शोक सन्तप्त परिवारजनमा मेरो समवेदना छ । भगवानले उनीहरुलाई यो दुख सहने शक्ति प्रदान गरुन् । घाइते बालबालिकालाई स्थानीय प्रशासनले सहयोग गरिरहेको छ । उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।"
प्राथमिकदेखि माध्यमिक कक्षाका करिब ४० जना बालबालिकालाई लिएर जीएल पब्लिक स्कुल जाँदै गरेको बस बिहान ८ः३० बजे कनिनाको उन्हानी गाउँ नजिकै भएको हो । मृत्यु हुनेमा सत्यम, युवराज, वंश, रिक्की, अंशु र याकुश रहेका प्रहरीले जनाएको छ । चालक धर्मेन्द्रले तिब्र गतिमा बस चलाएको भन्दै आफ्नो नियन्त्रण गुमाएपछि रुखमा ठोक्किएर बस पल्टिएको उनले बताए ।
महेन्द्रगढका प्रहरी उपरीक्षक अर्श वर्माले उक्त दुर्घटनामा ६ विद्यार्थीको मृत्यु भएको र करिब २० विद्यार्थी घाइते भएको बताए । चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको र उनको स्वास्थ्य परीक्षण गर्दा उनले मादक पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्यालयका प्रधानाध्यापक दीप्तीलाई पनि पक्राउ गरेको छ । अर्का एक विद्यालय अधिकारी होशियार सिंह पनि पक्राउ परेका छन् ।
सडकमा स्कुलका झोला, जुत्ता, पानीका बोतल र कपी किताबहरू छरिएको घटनास्थलमा हृदयविदारक दृश्य थियो । घटनालगत्तै बालबालिकाको चिच्याहट सुनेर यात्रुहरु दौडिएर उनीहरुलाई क्षतिग्रस्त बसबाट बाहिर निकाले । चालकले तीव्र गतिमा बस चलाएको र नियन्त्रण गुमाउँदा बस रुखमा ठोक्किएको घाइते विद्यार्थीले बताए । चालकले मादक पदार्थ सेवन गरेको देखिन्छ ।




















