काभ्रेपलाञ्चोक — काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५, नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त)को रुख काटेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त समूहले गएको बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो ।

फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोड रुपैयाँमा बिक्री गर्न बैना गरिएको तामाङले बताइन् । उनका अनुसार, बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झन्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो ।

मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरिएको हो । प्रभातलाई शनिबार काठमाडौंको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अरू दुईजनाको म्याद थप गरी थप अनुसन्धान थालिनेछ ।

प्रहरीका अनुसार, ठाकुरानीको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजंग गणले निष्क्रिय पारेको थियो । घटनामा संलग्न अरू व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठजनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएकी छन् । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुन सक्ने प्रहरीको अनुमान छ ।

बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्त्व छ ।

437876828_852965960205019_2872621583583500268_n के हो बुद्धचित्त?

बुद्धचित्तको वास्तविक नाम बोधिचित्त हो। यो बयर प्रजातिको बनस्पति हो। यसको काठ, पात, दाना, सबै धार्मिक प्रयोजनमा उपयोग हुन्छ। यसको बयर जस्तो देखिने तर कडा फल प्रयोग गरेर बौद्ध धर्मावलम्बीहरूले जप गर्न र लगाउन प्रयोग गर्ने माला बनाउने गरिन्छ। 

तिब्बतमा बज्रयान बौद्ध धर्म स्थापित गर्ने गुरू पद्म सम्भवले नेपालको काभ्रे जिल्लामा पर्ने एउटा गुफामा ध्यान गर्न आउँदा बोधीचित्तको बिरूवा छोडेर गएको किम्बदन्ती छ।

काभ्रेमा पाइने बुद्धचित्त बिरूवाको बाहिरी रूप बयर प्रजातिसँग मेल खाने र यो विश्वका अन्य ठाउँमा पाइनेभन्दा बेग्लै रैथाने प्रजाति भएको बताइन्छ। 

बुद्धचित्त सामुद्रिक सतहबाट १२०० देखि २००० मिटर उचाइको जमिनको पाखोबारीमा पाइन्छ। पाखोबारी, सुख्खा, स-साना ढुंगा भएको स्थानमा समेत यो रोप्न मिल्छ। रोपेको तीन या चार वर्षबाटै फल दिन थाल्ने यो बिरूवालाई त्यति स्याहार चाहिँदैन। रासस