भोजपुर —भोजपुरमा एकजना महिलामाथि एकाबिहानै भएको लुटपाटको भएको छ । षडानन्द नगरपालिका–२ की ५८ वर्षीया किपासाङ ल्हामु शेर्पामाथि हतियारधारी व्यक्तिले आइतबार बिहान ९ बजेतिर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार षडानन्द–९ स्थित जुगे जंगलमा हतियार देखाउँदै शेर्पाले लगाएको सुनका गरगहना र नगद लुटेर अपरिचित पुरुष फरार भएका छन् । लुटपाटमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का कार्यकर्ता संलग्न रहेको पत्ता लागेको छ । घटनामा संलग्नलाई पक्राउ गर्नका लागि भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकले विशेष टोली परिचालन गरेका थिए ।
प्रहरीका अनुसार षडानन्द नगरपालिका–२ की ५८ वर्षीया किपासाङ ल्हामु शेर्पामाथि हतियारधारी व्यक्तिले आइतबार बिहान ९ बजेतिर लुटपाटमा संलग्न भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ३७ वर्षीय सुमित भनिने सुमत परियार रहेको खुलेको हो ।
घटनामा वैद्य समूहका कार्यकर्ताको संलग्नता यकिन डीएसपी सुदीपराज पाठकले विशेष टोली परिचालन गरेका थिए । इलाका प्रहरी कार्यालय दिंलाबाट खटिएको इन्सपेक्टर कैलाशकुमार अधिकारी नेतृत्वको टोलीले लुटपाटमा संलग्न हतियारधारी व्यक्तिलाई राति ८ बजेतिर पक्राउ गरेको हो ।
इन्सपेक्टर अधिकारी नेतृत्वको टोलीले षडानन्द–९ भुल्केस्थित जंगलबीचको मूल बाटोबाट उनलाइ पक्राउ गरेको हो । थप अनुसन्धान र कारबाही अघि बढाउन उनलाई सोमबार बिहानका राति जिल्ला प्रहरी कार्यालय भोजपुर पुर्याइएको छ ।
परियार यसअघि पनि विभिन्न मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरेर छुटेका अपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । कैद भुक्तान गरेर जेलबाट छुटेपछि पुनः उनी अपराधमा संलग्न बनेको पाइएको प्रहरीको भनाइ छ । डीएसपी पाठकका अनुसार पक्राउ परेका परियारको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, म्याग्जिन, सानो पेस्तोलमा प्रयोग हुने ११ राउण्ड गोली, ९ हजार ५० रूपैयाँ नगद र सुनका गरगहना बरामद भएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा परियारले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । परियार यसअघि ३ वर्ष ६ महिना जेल बसेर छुटेका थिए । सजाय भुक्तान गरेर कारागारमुक्त भएपछि पुनः उनी अपराधमै संलग्न भएको प्रहरीको भनाइ छ ।
पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध परियार त्यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा हुँदै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)मा आवद्ध थिए । विभिन्न अपराधिक घटनामा संलग्न परियारलाई प्रहरीले यसअघि २०७६ साल फागुन २१ गते पक्राउ गरेर मुद्दा चलाएको थियो ।
प्रहरीले उनीविरुद्ध संगठित अपराध, अपराधिक उपद्रव, एनसेल टावर एवं जेसीबीमा आगजनी तथा राज्यविरुद्धको कसूरसमेतका ५ वटा मुद्दा चलाएको थियो । ती मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्यो । अदालतले परियारलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो । परियारविरुद्ध हातहतियार खरखजना र डाँका मुद्दा चलाउन सोमबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।




















