विराटचोक — एन प्याब्सन सुन्दरहरैँचा नगर समितिका अध्यक्षले संचालन गरेको बोर्डिङ स्कुल नगरपालिकामा दर्ता नै नभएको पाइएको छ।
एन प्याब्सन सुन्दरहरैँचा नगर समितिका अध्यक्ष सुरेशकुमार खवासले संचालन गरेको प्रकाश मेमोरियल स्कुल नगरपालिकामा दर्ता नगरी / अनुमति नलिई संचालन गरेको पाइएको हो। विक्रम सम्बत २०४१ सालमा मोरङको उर्लाबारी- ३ मा स्थापना गरिएको यो स्कुलले २०४२ सालमा क्षेत्रीय शिक्षा निर्देशनालयबाट कक्षा १ देखि ३ सम्म संचालन गर्ने अनुमति पाएको थियो। सो स्कुलले २०५० चैतमा जिल्ला शिक्षा कार्यालय मोरङबाट कक्षा ४ / ५ संचालनको अनुमति पाएको थियो। त्यसबेला पनि स्कुलको ठेगाना उर्लाबारी -३ नै थियो।
सो स्कुल २०७४ पुसमा प्रकाश मेमोरियल इङ्लिस आवाशीय विद्यालय प्रा.लि.का रुपमा कम्पनी रजिष्टर कार्यालयमा दर्ता भएको थियो। त्यसबेला स्कुलको ठेगाना मोरङको उर्लाबारी नगरपालिका -६ मा थियो । कम्पनीको अभिलेख अनुसार प्रकाश मेमोरियल इङ्लिस आवाशीय विद्यालय प्रा.लि. को संचालक गंगाप्रसाद खतिवडा र सुरेशकुमार खवास छन् ।
बोर्डिङलाई वि.सं. २०७४ सालमा जिल्ला शिक्षा कार्यालय मोरङको स्वीकृतिमा उर्लाबारीबाट मोरङकै ग्रामथान गाउँपालिका - ५ मा स्थानान्तरण गरियो। २०७४ माघ ९ गते लिइएको पान दर्ता प्रमाणपत्रमा पनि स्कुलको ठेगाना ग्रामथान गाउँपालिका नै उल्लेख छ।
कम्पनी रजिस्टार कार्यालयबाट २०७५ सालमा ठेगाना परिवर्तन गराई फेरि ग्रामथान गाउँपालिका कार्यालयबाट सुन्दरहरैंचा -११ मा स्थानान्तरणका लागि सिफारिस लिइएको थियो । तर, सुन्दरहरैँचा नगरपालिकाबाट आवश्यक प्रक्रिया पुरा नगरी प्रकाश मेमोरियल स्कुल संचालन हुँदै आएको छ। सुन्दरहरैँचा नगरपालिकाबाट उपलब्ध गराइएका संस्थागत स्कुलहरुको सूचीमा प्रकाश मेमोरियल स्कुलको नाम नै छैन।
प्रिन्सिपल सुरेशकुमार खवासले स्कुल २०७६ सालदेखि नगरपालिकाको सूचीमा रहेको दाबी गरे । आफूले शिक्षा करसमेत तिरेर निवेदन दिएपनि नगरपालिकाले निर्णय गरिनसकेको बताए।
नगरपालिकाको शिक्षा शाखाका अनुसार सुन्दरहरैँचारे नगर क्षेत्रमा १३ वटा प्री-प्राइमरीसहित ५५ वटा संस्थागत स्कुल छन्। नगरपालिकामा दर्ता भएका र कक्षा संचालनको अनुमति लिएका संस्थागत स्कुलको संख्या ५५ रहेको हो । तर, केही निजी विद्यालयहरु भने दर्ता विना नै संचालनमा रहेको स्रोतले बतायो ।



















