बुटवल —  लुम्बिनी प्रदेशमा एकीकृत समाजवादीको आपत्तिपछि एकैदिन दुई पटक मन्त्रिमण्डल बिस्तार भएको छ ।  मुख्यमन्त्री जोखबहादुर महराले  बिहीबार बिहान १० सदस्यीय मन्त्रिमण्डल बिस्तार गर्दा गठबन्धनका दलहरुले आफ्नो दलमाथि बेइमानी गरेको भन्दै एकीकृत समाजवादीले आपत्ति जनाएपछि केही घन्टामै  दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गरेका हुन ।

मुख्यमन्त्री महराले दिउँसो एकीकृत समाजवादीबाट भगवती अधिकारीलाई मन्त्रीमा थपेका छन् । मुख्यमन्त्री महराले एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराउने निर्णय गरेका थिए । मुख्यमन्त्रीले यसअघि एमालेका चार र उन्मुक्तिका एक र माओवादीका एक मन्त्री थपेर मन्त्रिमण्डल बिस्तार गरेका उनले समाजवादीबाट एकजना थपेसँगै ११ सदस्यीय बनेको छ ।बिहीबार नियुक्त भएका सातजना नै विना विभागीय हुन् ।

२२ चैतमा सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच ७ बुँदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति थियो ।

चार दलबीच भएको लिखित सहमतिमा जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र शहरी विकास तथा पर्यटन मन्त्रालय दिने सहमति रहेको जसपाको दाबी छ । उक्त सहमति पालना नभएको भन्दै जसपा प्रदेश अध्यक्ष अशोक यादवले आफूहरु सरकारमा नजाने बताएका छन् । तर जसपाका सांसद भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइसकिएको छ । जसपाका अरु दुई सांसद भने असन्तुष्ट छन् ।
मुख्यमन्त्री महराले एमालेले संसदीय दलका उपनेता अर्घाखांचीका चेतनारायण आचार्यलाई अर्थ मन्त्रालय, माओवादीका रोल्पाका दिपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई आजै कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीका भगवती अधिकारी विना विभागीय मन्त्री छन् ।