दोलखामा तीन किशोरी हराएको सूचना पाउनासाथ प्रहरी खोजीमा खटिए।
चौबीस घण्टापछि चरिकोटस्थित खोर्थली जंगलमा तिनीहरू सकुशल भेटिए।
बयानमा उनीहरूले प्रहरीलाई भने, ‘घरदेखि स्कुलसम्म असुरक्षाका अनगिन्ती समस्या भोगेकाले के गरुँ–गरुँ भएर रातभर जंगलमै बितायौं।’ जीवन त्याग्नेसम्मका निष्कर्षमा पुगेका तिनीहरूलाई प्रहरीले सम्झाउँदै आफन्तलाई बुझायो।
किशोरकिशोरी उमेरसम्म पहिलो आश्रय आफ्नो घरपरिवार हो।
दोस्रो स्कुल र शिक्षक हुन् दुवैतिरबाट माया नपाउने र दुर्व्यवहारको भागीदार हुने यो उमेर समूहबाट गम्भीर र अनौठा क्रियाकलाप हुन थालेको छ। प्रहरी तथ्यांकमा यस आर्थिक वर्षमा ३१ किशोरकिशोरीले घर छाडेर भाग्न खोजे।
प्रहरीको फन्दामा परेपछि उनीहरूमध्ये कतिपयले घर फर्कन इच्छा नदेखाएको पाइयो। कतिपयलाई बाबुआमाले घर फर्काउनसमेत अनिच्छा देखाएको भेटियो। ८ र ९ कक्षामा अध्ययन गर्ने १५ देखि १६ वर्षका तीन किशोरी दोस्रो पटक घरबाटभागेका थिए।
जिल्ला प्रहरी प्रमुख डीएसपी वासुदेव पाठकले घर, समाज र स्कुलमा माया, हौसला र आड नपाएपछि किशोरकिशोरी उमेर समूह असुरिक्षत हुने क्रम बढेको बताए। त्यसरी नै १० देखि १२ वर्षका तीन जना किशोरी भागेको अर्को दिन फेला परेको उनले बताए।
घरबाट भागेर रातभर हिंड्ने, अरूको घरमा गएर बास खोज्ने, जे पायो त्यही खाइदिने समस्या किशोर र किशोरीमा बढ्दै गएको प्रहरीले तयार पारेको विवरणमा उल्लेख छ । विवरणमा किशोर १५ जना र किशोरी १३ जनाले त्यस्तो क्रियाकलाप देखाएको पाइएको प्रनाउ पाठकले जनाए।
घरेलु किचलोका सिकार भएका किशोरकिशोरीमध्ये धेरैले गलत बाटो रोजेको पाइएको छ। बाआमाका झगडाले उनीहरूलाई घरमा हीनताबोध बढेको अनुसन्धानले देखाएको छ। यो खबर आजको कान्तिपुरमा राजेन्द्र मानन्धरले लेखेका हुन्।
गरिबी र यौन हिंसाले किशोरकिशोरी घर छाड्न बाध्य भएको बयानमा उल्लेख छ।
हाडनाताभित्रको यौन दुर्व्यवहारले पनि तिनीहरूमा समस्या थपिएको छ। विद्यालयभित्र पनि यौन हिंसा र अपमानका कारण किशोरकिशोरीमा विचलन बढ्दै गएको प्रहरीले सञ्चालन गरेको ‘फायर ब्याक’ सर्वेक्षणले देखाएको छ।
जिल्लाबाहिर जाने मुख्य नाका खरिढुंगा चेक पोस्टले १० जना किशोरकिशोरीलाई नियन्त्रणमा लिई आफन्तलाई बुझाएका छन् । चोरी गरी भाग्ने किशोरको संख्या पनि बढिरहेको छ।
बा–आमा दुवै गुमाएकाहरूले त्यस्तो अपराध गर्ने गरेको प्रहरी रेकर्डमा छ । सबैतिरबाट खुसी छिनिएका १६ वर्षमुनिका दुई जना आफन्तबाटै मारिएका छन् ।
दुई जना जबरजस्ती करणीमा परेका छन् । अपांगताका कारण आफ्नै बाबुबाट मारिनुपरेका घटनालाई प्रहरीले जघन्य अपराधका रूपमा लिएको छ । काका पर्नेबाट १० वर्षका बालकको हत्या भएको प्रहरी प्रतिवेदनमा छ ।



















